छोटु को उपचारमा मारबाडी युवा मंचको आर्थिक सहयोग

स्वास्थ्यसमाचार/ तीन महिनादेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार गराइरहेका नवलपरासी रामग्राम नगरपालिका १७, देवगाउँ, फूलभरियाका १६ वर्षीय छोटु साहानीको उपचारका लागि मारबाडी युवा मंच, भैरहवाले आर्थिक सहयोग गरेको छ ।

जेठ १२ गते आँपको रुखबाट लडेका उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको उपचारमा आर्थिक अभाव भएका भएपछि मारबाडी युवा मंच, भैरहवाले अस्पतालमा पुगेर ५१ हजार १ सय रुपैयाँ सहयोग गरेको हो ।

छोटुको उपचारमा अहिलेसम्म ९ लाख रुपैयाँ खर्च भइसकेको छ । अझै एक महिनासम्म अस्पतालमै राखेर उपचार गर्नु पर्ने भएकाले आर्थिक अभावका कारण परिवार चिन्तित बनेको छ ।

मारबाडी युवा मंचले छोटुकी आमा रमावतीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको अध्यक्ष मनोजकुमार अग्रवालले बताए । ‘पारिवारिक अवस्था निकै दयनीय रहेछ । आर्थिक अभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि सहयोग गरेका हौं’, अग्रवालले भने ।

मंचले आजदेखि अस्पतालबाट छोटुको डिसचार्ज नहुँदासम्म हेरचाह (विरामी कुरुवा) गर्ने २ जनालाई निःशुल्क खानापिनको व्यवस्था समेत गरेको छ ।मंचको समन्वयमा अस्पताल बाहिर रहेको एक होटलबाट बिहानबेलुका दुई जनालाई खानापिनको व्यवस्था मिलाइएको हो । ‘छोटुलाई रेखदेख गर्ने दुई जनालाई होटलमा खाना खाने व्यवस्था गरेका छौं । त्यसवापत लाग्ने सम्पूर्ण खर्च मंचले व्यहोर्छ’, अध्यक्ष अग्रवालले भने ।

आर्थिक अवस्था कमजोर हुँदा छोराको उपचारका लागि बाबु अमेरिकाले डेढ कठ्ठा जमिन ३ लाख रुपैयाँमा विक्री गरिसकेका छन् । अब सम्पत्तिका नाममा साढे दुई धुरमा बनेको कच्ची घर मात्रै बाँकी छ ।

छोराको उपचारका लागि उनले त्यही घर समेत विक्री गर्न खोजिरहे पनि विक्री नभएको बताउँछन् । ‘अस्पतालमा तिर्न तीनचार लाख रुपैयाँ बाँकी छ । गाउँमा ऋण उस्तै छ । अझै कति रकम लाग्ने हो । छोरालाई कहिले ठीक हुन्छ भन्ने थाहा छैन’, छोटुका बाबु अमेरिकाले भने ।

मंचका संस्थापक अध्यक्ष संदीप अग्रवालले गरिबीकै कारणले छोटुको उपचारमा समस्या भएपछि थोरै भए पनि सामाजिक उत्तरदायित्व बोध गरी सहयोग गरेको जनाए । उनले भने, ‘तीन महिनादेखि एउटा बालक अस्पतालको बेडमा छट्पटाइरहेको छ । उपचारकै क्रममा जायजेथा सकिइसक्यो । उसको सहयोगका लागि हामीले अन्य सामाजिक संघसंस्थासँग पनि सहकार्य गर्छौं ।’

छोटुको टाउकामा रगत जमेकाले शल्याक्रिया गरिएको थियो । उनलाई स्वासप्रश्वासमा समस्या नहोस् र खकार निकाल्न सजिलो होस् भनेर चिकित्सकले घाँटीमा प्वाल पारेर पाइप लगाइदिएका छन् ।

टाउकाको वायाँतर्फ चोट लागेकाले उनको दायाँतर्फको हात खुट्टा चल्दैनन् । ब्रेनमा समेत समस्या छ । विस्तारै सास फेरे पनि बोल्न सक्दैनन् । सुरुसुरुमा पाइपबाट खाना दिए पनि अहिले पाइप निकालेर झोलिलो पदार्थ मात्रै खान दिइएको छ ।

आर्थिक समस्याका कारण बाबु अमेरिकाले अस्पतालसँग छोरालाई डिसचार्ज गर्न भनिरहेका छन् । १० वर्ष अघि सर्पले डस्दा अमेरिकाका जेठा छोराको निधन भएको थियो । उनको छोटु र एउटी छोरी छन् ।

ज्याल मजदूरी गरेर जीविकोपार्जन गरिरहेको परिवारमा छोटुको उपचारका लागि लाखौं रुपैयाँ खर्च गर्न परेपछि उनीहरुका सामु ठूलो समस्या आइपरेको छ । तीन महिनादेखि छोराको हेरचाहमा बसेकी आमा रमावतिको दैनिकी रुदै वितिरहेको वताईन ।

सम्बन्धित शिर्षक :