कोरोना संक्रमितको पीडाः न त एम्बुलेन्स, न आइसोलेशन

शेरिफ केसी /रासस जीतपुर कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ । यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले बिरामी ओसार्न नमान्दा संक्रमितलाई कोरोना उपचार अस्पतालमा समयमै पुर्याउन सकिएको छैन ।

नगरमा झण्डै २० संक्रमित भेटिसक्दा पनि आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा नगरपालिकाको नेतृत्व अन्योलमा छ । सरकारले लकडाउनले उपचारको तयारीका लागि पर्याप्त समय पाइरहेको बताउँदै गर्दा वाणगङ्गा नगरले आइसोलेशन सेन्टर कुन ठाउँ बनाउने भन्नेसमेत टुङ्गो लगाउन ढिलाइ गरेको छ ।

बाणगङ्गा नगरमै कोरोना संक्रमित १७ जना फेला परेपछि मात्र आइसोलेशन सेन्टर निर्माण गर्ने ठाउँ खोज्न शुरु गरिएको छ । शुक्रबार बिहान वाणगङ्गा–४ की आठ वर्षीया बालिकालाई कोरोना भाइरस पुष्टि भयो । पुष्टि भएको तीन दिन भइसक्दा पनि उनको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था आजसम्म भएको छैन ।

संक्रमित बालिका आजसम्म पनि घरमै छिन् । सोही दिन बालिकासँंगै कोरोना संक्रमण पुष्टिको रिपोर्ट आएका बाणगङ्गा ११ का एक सञ्चारकर्मीलाई सोही दिन राति ९ः०० बजे मात्र जिल्ला सदरमुकामस्थित तौलिहवाको आइसोलेशनमापुर्याइएको थियो । वाणगङ्गा –४ स्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेका तीन जनालाई अझै कहाँ लाने भन्ने टुङ्गो छैन ।

कपिलवस्तुको पिछडिएको क्षेत्र विजयनगर गाउँपालिकाले समेत आफ्नै पालिकामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गोपाल थापाले भने “यो बेला समस्या त हुन्छ तर हामीे समस्यालाई मात्र हेरेर बस्ने होइन ।” विपद्का समयमा स्थानयवासीको अभिभावक भनेकै जनप्रतिनिधि भएकाले विभिन्न संघसस्था समाजसेवीलगायत सबैको सहयोगमा २५ वार्डको आइसोलेशन निर्माण गरिएको बताए ।

संक्रमितलाई त्यही आइसोलेशन सेन्टरमा राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकामा संक्रमित भेटियो भनेर थाहा पाउनेबित्तिकै आफैँ सोही स्थानमा पुगेर उनीहरुको मनोबल बढाउने र सुरक्षित ठाउँमा राख्ने व्यवस्था मिलाइएको उनले बताए । त्यस्तै मायादेवी गाउँपालिकाले पनि आफ्नै पालिकामा १६ शय्याको आइसोलेशन निर्माण गरेको गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले जानकारी दिनुभयो । पालिकामा अझै एक सय शय्याको आईसोलेशन निर्माण गर्ने तयारी छ । यता कपिलवस्तुको सुगम क्षेत्रमा रहेको बाणगङ्गा नगरमा ६ एम्बुलेन्स सञ्चालित छन् ।

ती सबै एम्बुलेन्सका चालकलाई प्रदेशसभा सदस्य विष्णु पन्थी र नगरपालिकाले पिपिई उपलब्ध गराएको छ । दुई एम्बुलेन्स चालकलाई कोरोना पोजेटिभ बोक्न भनेरै नगरपालिकाले आफ्नै खर्चमा क्याबिन निर्माण गरिदिएको छ तर कोरोना संक्रमित फेला परेपछि उनीहरुलाई आइसोलेशनमा पुर्याउन एम्बुलेन्स चालक अनेक कारण देखाएर उम्कने गरेका छन् ।

शनिबार बिहान संक्रमित देखिएका एक जनप्रतिनिधिले नै दिनभरि एम्बुलेन्स पाउन नसकेपछि उनी आफ्नै स्कुटर चलाएर बुटवलस्थित कोरोना अस्पताल पुगे । उनले भने,“सधैँभरि जनताको सेवामा खटियो, त्यही गर्दागर्दै पोजेटिभ भइयो । आफूलाई समस्या पर्दा कोही भएन साथ दिने, राति स्कूटर चलाएरै अस्पताल आउनुपर्यो ।”

यस्तै शनिबार नै कोरोना संक्रमण पुष्टि भएकी महिला पत्रकारको पनि हालत उस्तै रहयो । दिनभरि खोज्दा पनि एम्बुलेन्स पाउन नसकेपछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले प्रहरीको सवारी व्यवस्थापन गरेर राति १० बजे उनलाई कोरोना अस्पताल बुटवल पुर्याइयो ।

कपिलवस्तु जिल्लामा रहेका २९ एम्बुलेन्ससंँग केही दिनअघि प्रजिअले राखेको समन्वय बैठकमा सेवा प्रदान गर्ने तर आफूहरुको सुरक्षा हुनुपर्ने माग चालकले राखेका थिए । सोही मागअनुसार तिनलाई पिपिई, मास्क र सेनेटाइजर उपलब्ध गराइएको छ । केही एम्बुलेन्समा क्याबिन वनाएर चालकलाई सुरक्षित गरिएको छ ।

यता आज मात्र वाणगङ्गा नगरपालिकाले आइसोलेशन सेन्टर बनाउने तयारी थालेको नगर प्रमुख मंगलप्रसाद थारुले बताउनुभयो । आइसोलेशन केन्द्र बनाउन नसकेको भनेर आलोचनामा परेको वाणगङ्गाले एकैसाथ दुई स्थानबाट बनाउने काम शुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ५ को कोपवा स्वास्थ्यचौकीमा १५ शय्याको आइसोलेशन सेन्टर आज साँझसम्ममा बनाएर सेवा प्रारम्भ गर्ने गरी काम भइरहेको नगर उपप्रमुख चक्रपाणि अर्यालले बताउनुभयो ।

अर्कातर्फ सिद्धार्थ क्याम्पसको सभाकक्षमा ३५ शय्याको आइसोलेसन सेन्टर निर्माणको तयारी शुरु भएको छ ।कपिलवस्तु उद्योग वाणिज्य संघका पदाधिकारी छविरेश्मी मगरले वाणगङ्गा–४, जीतपुरमा निर्माणाधीन आफ्ना १८ कोठासहितको ६ तले घर नै आइसोलेसन सेन्टर निर्माणका लागि उपलब्ध गराउन तयार भए पनि निर्माण सम्पन्न हुँदासम्म ढिलाइ हुने भएकाले अन्य विकल्प खोजिएको बताए ।

सम्बन्धित शिर्षक :