सरकारले सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने

स्वास्थ्यकर्मि बिरामीको उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए । उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ ।

यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ । उनले उनीहरु बन्दाबन्दी लकडाउनको समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्ने बताए । उनीहरुको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ । केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो ।

अहिलेसम्म पिसिआर २२ हजार ६६४ को र आरडीटी परीक्षण ६२ हजार ३२७ मा गरिएको छ ।यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोभिड–१९ परीक्षण गर्ने भएको छ । यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पिसिआर विधिबाट परीक्षण गर्ने विज्ञ सल्लाहाकार डा कार्कीले जानकारी दिए ।

अहिलेसम्म मुलुकभरि १५ हजार ६०० जना क्वारेनटाइनमा रहेका छन् । देशभरिका विभिन्न स्थानमा ५३ हजार ८३५ क्वारेन्टाइन वेड रहेका छन् ।

सम्बन्धित शिर्षक :