किट अभाब भएपछि भैरहवा प्रयोगशालामा कोरोना परीक्षण रोकियो

२३ चैतबाट प्रयोगशाला सञ्चालनमा ,३ सय ३७ जनाको स्वाब परीक्षण

स्वास्थ्यसमाचार/ प्रदेश ५ मा कोरोना परीक्षण गर्न किट अभाव हुन थालेको छ । प्रदेशमा तीनवटा प्रयोगशाला सञ्चालनमा रहे पनि रुपन्देहीको भैरहवामा सञ्चालनमा ल्याइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावसँगै कोरोना परीक्षण रोकिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले प्रदेशका अन्य प्रयोगशालाहरूमा पनि केही दिनलाई मात्रै पुग्ने किट रहेको बताए ।समयमै किट नआए प्रदेशका अन्य ल्याबहरूमा समेत किट अभाव हुने चौधरीले बताए । प्रदेशमा रुपन्देही, दाङ र बाँकेमा प्रयोगशाला सञ्चालनमा रहेका छन् ।

प्रदेश जनस्वास्थ प्रयोगशाला रुपन्देहीका निमित्त प्रमुख डा। राजेन्द्र गिरीले आइतबार १० जनाको स्वाब परीक्षण गरिएको उल्लेख गर्दै अब थप परीक्षण गर्न किट अभाव भएको बताए । आइतबार परीक्षण गरिएका सबै रुपन्देहीका हुन् ।

रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएका युवकको सम्पर्कमा आएका उनका दाइसँगै सम्पर्कमा रहेकाहरूको स्वाब परीक्षण गरिएको गिरीले बताए । ती संक्रमित युवालाई लिन गएका उनका दाजुसहित उनका परिवारका सदस्यहरूको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको सम्पर्कमा रहेका अझै केहीको स्वाब परीक्षण गर्नुपर्ने भए पनि किट अभावले सम्भव नभएको गिरीले जानकारी दिए । रुपन्देहीमा गत २३ चैतबाट प्रयोगशाला सञ्चालनमा आएको हो । यस अवधिमा तीन सय ३७ जनाको स्वाब परीक्षण गरिएको छ ।

सम्बन्धित शिर्षक :