तिलोत्तमाको क्वारेन्टाइनमा रहेका २९जनाको कोरोना परीक्षण ‘नेगेटिभ’

शंकरनगर क्वारेन्टाइनमा हालसम्म ८५ जना बसेर तोकिएको पूरा गरेपछि फर्किए

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ ।

क्वारेन्टाइनमा रहेका सबै जनाको पिसिआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सिनियर अहेव अधिकृत गणेश गौतमले वताए । उनीहरुको सोमबार स्वाबको नमूना संकलन गरिएकोमा मंगलबार नतिजा आएको हो ।

क्वारेन्टाइनमा भारतबाट लुकिछिपी आएकासहित भारतको क्वारेन्टाइनमा बसेर आएकाहरु थिए । भारतको नौतनहवा स्थित क्वारेन्टाइनमा बसेका १० जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय शंकरनगर क्वारेन्टाइनमा पठाएको थियो ।

नतिजा नेगेटिभ आएसँगै क्वारेन्टाइनमा रहेका १९ जनालाई मंगलबार घर पठाइएको छ । जिल्ला प्रशासनले पठाएका दश जना विभिन्न जिल्लाका रहेकोले प्रशासनले व्यवस्था नगरेसम्मका लागि क्वारेन्टाइनमैं रहने भएका छन् ।

यीहरुसँगै हाल मंगलबार थपिएका दुई जनासमेत क्वारेन्टाइनमा रहेको सिनियर अहेव अधिकृत गौतमले जानकारी दिए । शंकरनगर क्वारेन्टाइनमा हालसम्म ८५ जना बसेर तोकिएको समय पूरा गरेपछि फर्किएका छन् भने झण्डै २ सय जनालाई होमक्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाले भारतलगायत तेस्रो मुलुक र नेपालका कोरोना संक्रमित क्षेत्रबाट नगरपालिकामा आउनेहरुको नियमित जानकारी लिने गरेको छ । यसरी आउनेहरु शंकास्पद भएमा क्वारेन्टाइनमा राखिने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित शिर्षक :