स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउनु: मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री पोखरेलले गरेको यो सातौैं भिडियो संवाद

स्वास्थ्यसमाचार/ प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामका विषमा दाङस्थित राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवाहरुसँंग एकीकृत भिडियो संवाद गरेका छन ।

कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्री पोखरेलले गरेको यो सातौैं भिडियो संवाद हो । मुख्यमन्त्री पोखरेलले सर्वपक्षीय भिडियो संवादमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खडका, नागरिक समाजका संयोजक चन्द्रराज पन्त सहभागी भएका थिए ।

कांग्रेस जिल्ला सभापति कीर्ति बहादुर खडका इन्टरनेटको समस्याका कारण भिडियो संवादमा सहभागी हुन नसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर के.सीले बताए ।

भिडियो संवादमा सहभागीहरुको तर्फबाट दाङमा कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएका कामका विषयमा जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रणमा सबै मिलेर अघि बढ्नुपर्ने र सबै मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिने बताए ।

संवादका क्रममा मन्त्री पोखरेलले स्वास्थ्य सामग्री उपलब्ध भएकोले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउ गर्न आग्रह गरे । उनले स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोक्न र अघि बढाउन निर्देशन दिए ।

त्यसै गरी स्थानीय तहलाई कोरोना विरुद्धको काम अघि बढाउन पैसा पठाएकोले स्थानीय तहका काम प्रभावकारी बनाउने गरी सहयोग गर्न आग्रह गरे ।
मन्त्री पोखरेलले दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न र राहत एकद्दार प्रणालीबाट अघि बढाउन समेत आग्रह गरे ।

दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएकोले आवश्यक व्यवस्थापनका लागि मिलेर अघि बढ्न, पीडितले पाउने र राहतको दुरुपयोग रोक्न शुरुदेखि निगरानी बढाउनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएको बताउदै भैरहवामा प्रयोगशाला परिक्षण शुरु गरिएको, नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा रहेको बताए ।

कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संम्भव भएको बताउदै उनले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गरे ।

सम्बन्धित शिर्षक :