कोरोना रोकथाम :अरु प्रदेशबाट नागरिक भित्रिन नदिनु मुख्यमन्त्री

स्वास्थ्यसमाचार /कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे आज मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गरेको यो चौथो भिडियो संवाद हो ।

आजको भिडियो संवादमा आजको भिडियो संवादमा गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र भारतसंग सीमा जोडिएका स्थानीय तहका प्रमुख सहभागी भए ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बश्याल, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटो, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र वगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद वश्याल भिडियो संवादमा सहभागी थिए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भयो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देश गरे ।

पालिकाप्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराए । उनीहरुले स्वास्थ्य सामग्रीको व्यवस्थापन छिटो गर्न आग्रह गरे ।

स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गरे । प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेको मुख्मयन्त्रीले जानकारी गराए ।

भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको केही समयमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गरे । सबै जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको बताउँदै उनले अब आउने स्वास्थ्य सामग्री क्रमशः अरु स्वास्थ्यकेन्द्रलाई पनि पठाउन सकिने बताए ।

कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उजले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गरे ।

अरु प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्नुपर्ने उनले बताए । अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भएकोले पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराए ।

सम्बन्धित शिर्षक :