प्रदेश ५मा कोरोना नियन्त्रण गर्न मूख्यमन्त्रीको संयोजकत्वमा संकट व्यवस्थापन केन्द्र

सिएमसिको ११ महत्वपूर्ण निर्णय

स्वास्थ्यसमाचार / प्रदेश ५ मा संकट व्यवस्थापन केन्द्र क्राइसिस मेनेजमेष्ट सेन्टर सिएमसि स्थापना सँगै ११ निर्णय गरिएको छ । प्रदेशमा कोभिड १९ संक्रमण सम्बन्धी कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका सेन्टरको स्थापना गरि निर्णयहरु गरिएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा संकट व्यवस्थापन केन्द्र क्राइसिस मेनेजमेष्ट सेन्टर सिएमसि स्थापना भएको हो । क्राइसिस मेनेजमेण्ट सेन्टरको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सरकारका प्रमुख सचिव तोयनारायण ज्ञवाली, मध्यपश्चिम पृतना बुटवलका पृतनापति सिताराम खडका,रहेका छन ।

त्यस्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुवेदी, आर्थिक मामिला योजना मन्त्रालयका सचिव मधु मरासिनी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर खरेल, सामाजिक विकास मन्त्रालयका सचिव गोपीकृष्ण खनाल, नेपाली प्रहरी प्रदेश ५ का प्रमुख, सशस्त्र प्रहरी बल प्रदेश ५ का प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख रहेका छन् ।

सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रि परिषद कार्यालयका सचिव भरतमणि सुवेदीलाई तोकिएको छ ।

 क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले गरेका ११ निर्णयहरुः

१. आम जनमानसमा कोरोना भाईरस सम्वन्धी त्रासका कारण रोग लुकाई घर मै वस्दा थप संकट उत्पन्न हुनसक्ने संभावनालाई मध्यनजर गरी आमरुपमा सन्देशमूलक सूचनाहरु सामाजिक विकास मन्त्रालयले संप्रेषण गरी अनावश्यक त्रास न्यूनीकरण गर्ने ।

२. प्रमुख जिल्ला अधिकारीले जिल्लास्थित जनस्वास्थ्य कार्यालय प्रमुखहरुको समन्वय र सहयोगमा जिल्लामा रहेका एम्वुलेन्सका चालकहरुलाई सहजढंङ्गले सेवाप्रवाह गर्नका लागि मनोपरामर्श गर्ने ।

३. प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरसका कारण हुनसक्ने मृतकहरुको शव व्यवस्थापनका लागि जिल्लास्थित सुरक्षा निकायको नेतृत्वमा एक टिम बनाउने । उक्त टिममा रहने सदस्यहरुका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने ।

४. स्वास्थ्य उपकरण तथा औषधीहरु आपूर्तिका लागि सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत देहाय बमोजिम गर्ने ।
क) यस प्रदेशका लागि आवश्यक पर्न सक्ने स्वास्थ्य उपकरण औषधीको विवरण र योजना तयार गर्ने ।
ख) प्रदेशबाट व्यवस्थापन हुन नसक्ने औषधी नेपाल सरकारसँग माग गरी पठाउने ।
ग) माग बमोजिम नेपाल सरकारबाट उपलब्ध हुन नसक्ने औषधी खरिद गरी स्वास्थ्य उपकरण र औषधी आपूर्तिको सुनिश्चितता कायम गर्ने ।

५. जनशक्ति व्यवस्थापनका लागी नेपाल सरकार स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट निर्देशन भए बमोजिम गर्ने ।

६.आर्थिक मामिला तथा योजना मन्त्रालयले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सामान्य अवस्था र असामान्य अवस्थामा आवश्यक पर्न सक्ने बजेट व्यवस्थापन बारेमा तयारी गरी राख्ने ।

७. यस प्रदेशमा प्राप्त हुने आर्थिक सहयोग कोरोना रोग (COVID-19) नियन्त्रण तथा उपचार कोष र स्वास्थ्य सम्वन्धी वस्तुगत सहयोग सामाजिक विकास मन्त्रालय मार्फत एकिकृत रुपमा संकलन र व्यवस्थापन गर्ने ।

८. आन्तरिक मामिला तथा कानून मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको समन्वय र परामर्शमा यस प्रदेशमा क्वारेण्टाइनमा रहनेको संख्या, आइसोलेशनमा रहनेको संख्या तथा अन्य प्रयोजनका लागि आवश्यक पर्नसक्ने खाद्यान्न लगायतका वस्तुहरुको तथ्यांङ्क सहितको योजना तयार गर्ने । प्राप्त हुने खाद्यान्न प्राप्त गरी अभिलेख राखी वितरणको व्यवस्था मिलाउने ।

९. प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा नेपाली सेना वा सुरक्षा निकायको नेतृत्वमा कोरोना प्रमाणित भएका वा संभावित विरामीहरु अस्पतालसम्म पुर्याउने वा अस्पतालमै रहने व्यवस्था मिलाउन एक Rapid Action Teamगठन गर्ने ।

१०. यस प्रदेशमा प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको पश्चिम सीमा बर्दियामा नेपाली सेना र पूर्वी सिमा नवलपरासीमा सशस्त्र प्रहरी वलले हेल्थ डेस्क खडा गरी प्रदेश प्रवेश गर्ने व्यक्तिहरुको ज्वरो नाप्ने व्यवस्था र आवश्यक सुरक्षा जाँच गर्ने व्यवस्था मिलाउने ।

११. सुरक्षाकर्मीलाई आवश्यक पर्ने पन्जा मास्क सेनेटाइजर र ज्वरो नाप्ने मेशिन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने निर्णय भएकोे मुख्यमन्त्रीका प्रेस सल्लाहकार सेर बहादुर केसीले बताए ।

 

सम्बन्धित शिर्षक :