स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिका–९ स्थित श्री गौतम बुद्ध मा.वि. मा “पोषण सप्ताह” को अवसर पारेर आयोजित “पोषण प्रदर्शन साप्ताहिक प्रदर्शनी कार्यक्रम” सम्पन्न भएको छ।
विद्यालय स्वास्थ्य नर्स मुना ज्ञवाली को सक्रिय व्यवस्थापन तथा सहजीकरणमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मृगेन्द्र रिजाल लगायत सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको विशेष सहयोग रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विद्यालय स्वास्थ्य नर्स मुना ज्ञवालीको सहजीकरणमा स्वस्थ तथा पोषणयुक्त खाद्य परिकारहरूको आकर्षक प्रदर्शन गरेका थिए। स्थानीय स्तरमा उपलब्ध खाद्य सामग्री प्रयोग गरी तयार गरिएका परिकारहरूले सन्तुलित आहार र पोषणयुक्त भोजनको महत्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रम अवलोकनका क्रममा वडा नं. ९ का नगरसभा सदस्यहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रधानाध्यापक मृगेन्द्र रिजालले विद्यालयमा नयाँ सोच र सिर्जनात्मक गतिविधिलाई निरन्तर प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँको नेतृत्व, मेहनत र कार्यशैलीका कारण विद्यालयमा सकारात्मक परिवर्तनहरू सहजै देख्न सकिने सहभागीहरूले बताएका छन्।
प्रदर्शनीमार्फत विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई सन्तुलित आहार, स्वस्थ खानपान र पोषणको महत्वबारे जानकारी प्रदान गरिएको थियो। विद्यालय स्वास्थ्य नर्स मुना ज्ञवालीले गलत तथा अस्वस्थ खानपान बानी परिवर्तन गरी स्वस्थ जीवनशैली अपनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने तिलोत्तमा नगरपालिका स्वास्थ्य अधिकृत राम प्रसाद ढकालले बताउनु भयो ।

प्रतिकया दिनुहोस्