लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिनुभएको हो ।

यसैगरी, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ ।

यसबीच रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोमा परी लुम्बिनी प्रदेशबाट पुगेका १ सय ८१ जना व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ ।

कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोगका कार्यमा सक्रिय सहभागिता जनाउन मुख्यमन्त्री आचार्यले अपिल गर्नुभएको छ ।

विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्नसमेत उहाँले आग्रह गर्नुभएको हाे ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि पहल गरिरहेको जनाएको छ । नदीमा बगेर लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा आएका शवको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गरिरहेको जनाइएको छ ।

सम्बन्धित शिर्षक :