आजको डिजिटल युगमा फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेका छन्। सूचना आदानप्रदान, शिक्षा, मनोरञ्जन तथा सामाजिक सम्बन्ध विस्तारका लागि यी माध्यम अत्यन्त उपयोगी छन्।
तर पछिल्लो समय आत्महत्या, आत्मदाह, हिंसा तथा निराशालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आकर्षक, सनसनीपूर्ण वा भावनात्मक ढङ्गले प्रस्तुत गर्ने सामग्री उल्लेख्य रूपमा बढिरहेका छन्। यस्ता सामग्रीले विशेष गरी मानसिक रूपमा संवेदनशील व्यक्ति, किशोर–किशोरी, युवा तथा तनाव र अवसादसँग संघर्ष गरिरहेका मानिसहरूको मनोबल कमजोर बनाउन सक्छ। त्यसैले सामाजिक सञ्जालको प्रयोग स्वतन्त्र मात्र होइन, जिम्मेवार पनि हुनुपर्छ।
मानसिक स्वास्थ्य भनेको केवल मानसिक रोग नहुनु मात्र होइन। स्वस्थ सोच, सन्तुलित भावना, सकारात्मक व्यवहार, सही निर्णय गर्ने क्षमता तथा दैनिक जीवनका चुनौतीसँग सामना गर्न सक्ने मनोबल नै मानसिक स्वास्थ्य हो। यो मानिसको मन, भावना र व्यवहारसँग प्रत्यक्ष सम्बन्धित भएकाले स्वास्थ्यका सबै पक्षमध्ये अत्यन्त संवेदनशील विषय हो। मानसिक स्वास्थ्य राम्रो भए व्यक्तिको परिवार, कार्यक्षेत्र र सामाजिक सम्बन्ध पनि स्वस्थ रहन्छन्। मानसिक स्वास्थ्य कमजोर भए त्यसको असर जीवनका हरेक क्षेत्रमा देखिन्छ।
आजको बदलिँदो जीवनशैली, बढ्दो प्रतिस्पर्धा, आर्थिक दबाब, पारिवारिक तनाव, बेरोजगारी, सम्बन्धमा आउने उतारचढाव, लागूपदार्थको दुरुपयोग तथा सामाजिक एक्लोपनका कारण मानसिक स्वास्थ्यसम्बन्धी समस्या तीव्र रूपमा बढिरहेका छन्। बाहिरबाट हेर्दा धेरै मानिस सामान्य देखिए पनि उनीहरू भित्रभित्रै चिन्ता, तनाव, अवसाद, डर, एक्लोपन वा अन्य मानसिक समस्यासँग संघर्ष गरिरहेका हुन सक्छन्। यही कारणले मानसिक स्वास्थ्य अहिलेको समयको मौन तर गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ।
दुर्भाग्यवश, हाम्रो समाजमा मानसिक रोगप्रति अझै पनि धेरै भ्रम र कलंक विद्यमान छन्। “मानिसले पागल भन्छन्”, “समाजले के भन्छ?”, “इज्जत जान्छ” भन्ने डरले धेरैले आफ्नो समस्या लुकाउँछन्। कतिपयले परिवारका सदस्यलाई समेत नभनी वर्षौँसम्म पीडा सहेर बस्ने गर्छन्।
फलस्वरूप रोग प्रारम्भिक अवस्थामै पहिचान हुने अवसर गुम्छ। अवस्था जटिल बनेपछि मात्र उपचारको खोजी गरिन्छ। अझ कतिपयले सुरुमा अप्रमाणित उपचार वा विभिन्न अन्धविश्वासको पछि लागेर बहुमूल्य समय गुमाउँछन् र अन्तिम अवस्थामा मात्र मानसिक स्वास्थ्य विशेषज्ञसम्म पुग्छन्। यसले उपचारलाई अझ कठिन र लामो बनाइदिन्छ।
हामीले सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने मानसिक रोग पनि मधुमेह, उच्च रक्तचाप, दम वा अन्य शारीरिक रोगजस्तै उपचार गर्न सकिने स्वास्थ्य समस्या हो। समयमै पहिचान, योग्य मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श, आवश्यक औषधि, मनोसामाजिक परामर्श तथा परिवारको निरन्तर साथ पाए अधिकांश मानसिक रोगमा उल्लेखनीय सुधार आउँछ। धेरै बिरामी पूर्ण रूपमा सामान्य, सम्मानजनक र उत्पादनशील जीवनमा फर्किन सफल भएका उदाहरण प्रशस्तै छन्। त्यसैले मानसिक रोग लुकाउनु होइन, समयमै उपचार गर्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हो।
आत्महत्या कुनै समाधान होइन। धेरैजसो अवस्थामा आत्महत्याको सोच भएका व्यक्तिहरूले जीवन अन्त्य गर्नुभन्दा पनि आफूले भोगिरहेको असह्य मानसिक पीडाबाट मुक्त हुन खोजिरहेका हुन्छन्। यदि उनीहरूले समयमै सही उपचार, परिवारको साथ, सामाजिक सहयोग र विशेषज्ञको परामर्श पाएका भए धेरै जीवन बचाउन सकिन्थ्यो।
त्यसैले आत्महत्या वा आत्मदाहका घटनालाई सनसनीपूर्ण ढङ्गले प्रस्तुत गर्ने, भाइरल बनाउने वा अनावश्यक रूपमा प्रचार गर्ने सामग्रीले समाजलाई सकारात्मक सन्देश दिँदैन। बरु यस्ता सामग्रीले जोखिममा रहेका व्यक्तिहरूमा नकारात्मक मनोवैज्ञानिक प्रभाव पार्न सक्छ। त्यसैले सामाजिक सञ्जालमा यस्ता सामग्रीको जिम्मेवारीपूर्ण व्यवस्थापन र प्रयोग आजको आवश्यकता हो।
सामाजिक सञ्जाललाई निराशा फैलाउने माध्यम होइन, आशा जगाउने माध्यम बनाऔँ। प्रेरणादायी कथा, मानसिक स्वास्थ्यसम्बन्धी सही जानकारी, तनाव व्यवस्थापनका उपाय, आत्महत्याबाट जोगिन प्रेरित गर्ने सन्देश, परिवारमा खुला संवाद तथा आवश्यकता पर्दा विशेषज्ञसँग सहयोग लिन उत्प्रेरित गर्ने सामग्रीलाई प्राथमिकता दिऔँ। यदि कसैले निराशा, आत्महानि वा आत्महत्याका संकेत देखाइरहेको छ भने त्यसलाई मजाक वा कमजोरीका रूपमा होइन, गम्भीर मानवीय अवस्थाका रूपमा बुझौँ। उनीहरूको कुरा धैर्यपूर्वक सुनौँ, साथ दिऔँ र आवश्यक उपचारसम्म पुग्न सहयोग गरौँ।
आज म स्वयं मानसिक स्वास्थ्य सेवा तथा मानसिक रोगको निदान, व्यवस्थापन र उपचारमा आबद्ध एक स्वास्थ्यकर्मीका रूपमा दैनिक रूपमा बिरामी, उनीहरूका परिवार तथा समाजका यथार्थहरू नजिकबाट देखिरहेको छु। मेरो अनुभवले एउटा कुरा स्पष्ट रूपमा देखाएको छ।
एक जना व्यक्तिलाई मानसिक रोग लाग्दा त्यसको असर केवल एउटै व्यक्तिमा सीमित रहँदैन; त्यसले सम्पूर्ण परिवार, आफन्त, छिमेकी र समाजलाई समेत प्रभावित पार्छ। रोग जटिल बन्दै जाँदा पारिवारिक सम्बन्धमा तनाव, आर्थिक भार, सामाजिक असहजता तथा भावनात्मक पीडा बढ्दै जान्छ। त्यसैले मानसिक रोगलाई प्रारम्भिक अवस्थामै पहिचान गर्नु, समयमै उपचार सुरु गर्नु तथा नियमित फलोअप गर्नु अत्यन्त आवश्यक छ।
हामी सबैले एउटा साझा प्रतिबद्धता गर्नुपर्छ-मानसिक रोग लाग्न नदिन सचेत बनौँ। लागिहाले लुकाऔँ होइन, उपचार गरौँ। मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गरौँ। कलंक होइन, सहयोगको संस्कृति निर्माण गरौँ। “इज्जत जान्छ” भन्ने डरभन्दा “स्वास्थ्य जोगिन्छ” भन्ने सोचलाई प्राथमिकता दिऔँ। आवश्यकता पर्दा ढिलो नगरी नजिकको मानसिक स्वास्थ्य विशेषज्ञ वा स्वास्थ्य संस्थाबाट सेवा लिऔँ। चिकित्सकको सल्लाहअनुसार नियमित उपचार र औषधि सेवन गरौँ, किनकि अधिकांश मानसिक रोग समयमै उपचार गरे नियन्त्रणमा आउँछन् र धेरै बिरामी पूर्ण रूपमा सामान्य जीवनमा फर्कन सक्छन्।
अन्ततः मानसिक स्वास्थ्यप्रति सचेत समाज नै स्वस्थ, समृद्ध र सभ्य समाज हो। प्रत्येक जीवन अमूल्य छ। त्यसैले आशा बाँडौँ, सहानुभूति बढाऔँ, मानसिक स्वास्थ्यका विषयमा खुलेर बोलौँ, सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोग गरौँ र समयमै उपचारलाई प्राथमिकता दिऔँ। आजको हाम्रो सानो सचेतनाले भोलि कसैको अमूल्य जीवन बचाउन सक्छ।
लेखक ढकाल निबर्तमान अध्यक्ष नेपाल फार्मेसी संघ


प्रतिकया दिनुहोस्