रुपन्देहीमा परिवार नियोजनका साधनको पहुँच बढ्यो, परामर्शमा कमी

रुपन्देहीमा परिवार नियोजनका साधन तथा सेवाको पहुँच विस्तार हुँदै गए पनि सेवाग्राहीलाई सही परामर्श र उपयुक्त साधन छनोटमा अझै जोड दिनुपर्ने देखिएको छ। स्वास्थ्य संस्थामा विभिन्न प्रकारका परिवार नियोजनका साधन उपलब्ध भए पनि साधनको उपलब्धतालाई मात्र सेवा प्रभावकारी भएको मान्न नसकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

स्वास्थ्य कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा प्रतिवेदनअनुसार जिल्लाका ५० स्वास्थ्य संस्थाबाट परिवार नियोजनका अस्थायी तथा स्थायी विधिसम्बन्धी सेवा उपलब्ध हुँदै आएका छन्। इम्प्लान्ट सेवा १११ र आइयूसीडी सेवा ५० स्वास्थ्य संस्थाबाट प्रदान भइरहेको प्रतिवेदनमा उल्लेख छ।

परिवार नियोजनअन्तर्गत कन्डम, डिपो, खाने चक्की, इम्प्लान्ट र आइयूसीडीजस्ता साधन स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदै आएका छन्। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा कन्डम १६ लाख ५८ हजार १८१ वटा, डिपो २६ हजार ९७६ डोज, खाने चक्की ८६ हजार ८८६ चक्र, इम्प्लान्ट तीन हजार ३६१ सेट र आइयूसीडी ८८५ सेट प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा थापाले परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या बढे पनि सही परामर्शको अभावमा कतिपय सेवाग्राहीले बीचमै साधन प्रयोग गर्न छाड्ने गरेको बताउनुभयो। साधन प्रयोग गर्दा देखिन सक्ने सामान्य असरबारे पहिले नै जानकारी नहुँदा सेवाग्राही डराउने तथा भ्रममा पर्ने गरेको उहाँको भनाइ छ।

“साधन उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन, सेवाग्राहीलाई सही परामर्श दिनु पनि उत्तिकै आवश्यक हुन्छ,” उहाँले भन्नुभयो।

रुपन्देहीमा परिवार नियोजन सेवाको पहुँच बढ्दै गए पनि जिल्लाको सामाजिक तथा भौगोलिक विविधताका कारण सबै सेवाग्राहीको आवश्यकता एउटै नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। सहरी क्षेत्रसँगै ग्रामीण, सीमावर्ती तथा तीव्र रूपमा विस्तार भइरहेका बस्तीमा फरक–फरक समुदायको बसोबास रहेकाले उनीहरूको आवश्यकता र परिवार नियोजनसम्बन्धी व्यवहार पनि फरक हुन सक्छ।

स्वास्थ्यकर्मीका अनुसार कसैलाई दीर्घकालीन विधि आवश्यक पर्न सक्छ भने कसैलाई छोटो अवधिको साधन उपयुक्त हुन सक्छ। साधनका सम्भावित असर, प्रयोगको तरिका र निरन्तरताबारे जानकारी नहुँदा प्रयोगकर्ता बीचमै विधि परिवर्तन गर्ने वा परिवार नियोजन सेवा नै छाड्ने अवस्था आउन सक्छ।

परिवार नियोजन सेवामा अब साधन वितरणभन्दा सेवाग्राहीको आवश्यकता, स्वास्थ्य अवस्था र रोजाइअनुसार परामर्शलाई प्राथमिकता दिनुपर्ने थापाले बताउनुभयो। सेवाग्राहीले आफूलाई उपयुक्त साधन छनोट गर्ने अधिकारसँगै त्यसको सुरक्षित प्रयोगबारे आवश्यक जानकारी पाउनुपर्ने उहाँको भनाइ छ।

पछिल्लो समय आकस्मिक गर्भनिरोधक साधनको प्रयोगसमेत बढिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। तर आकस्मिक गर्भनिरोधक नियमित परिवार नियोजनको विकल्प नभएकाले यसको प्रयोग, सीमितता र नियमित परिवार नियोजनका विधिबारे सेवाग्राहीलाई स्पष्ट जानकारी दिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

परिवार नियोजनको आवश्यकता पूरा हुन नसक्दा अनिच्छित गर्भधारणको जोखिम बढ्न सक्छ। चाहेको साधन उपलब्ध नहुनु, कुन विधि आफूलाई उपयुक्त हुन्छ भन्ने जानकारी नहुनु वा सेवा लिन नसक्नु यसका कारण हुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

अनिच्छित गर्भधारणपछि सुरक्षित गर्भपतनको आवश्यकता पर्न सक्ने भएकाले गर्भधारण हुनुअघि नै परिवार नियोजनका उपयुक्त विकल्प उपलब्ध गराउनु महत्वपूर्ण मानिन्छ। यसका लागि महिला मात्र नभई पुरुषको समेत परिवार नियोजन सेवामा सहभागिता बढाउनुपर्ने स्वास्थ्यकर्मीहरूको जोड छ।

परिवार नियोजन सेवाको नियमित प्रतिवेदनमा भने रुपन्देहीले राम्रो अवस्था देखाएको छ। जिल्लाका स्वास्थ्य संस्थाबाट परिवार नियोजन कार्यक्रमको शतप्रतिशत प्रतिवेदन प्राप्त भएको र समयमै प्रतिवेदन गर्ने दर ९७ प्रतिशत रहेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य संस्थामा आवश्यक साधनको मौज्दातसमेत राखिएको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म जिल्लामा कन्डम एक लाख ६६ हजार ९३६, डिपो १८ हजार ७७५, खाने चक्की छ हजार ५९०, इम्प्लान्ट ४० सेट र आइयूसीडी २५५ सेट मौज्दात रहेको थियो।

परिवार नियोजनका साधनको पहुँच विस्तारसँगै सेवा निरन्तरताका लागि गुणस्तरीय परामर्श आवश्यक रहेको नेपाल परिवार नियोजन संघका केन्द्रीय सल्लाहकार निर्मलप्रसाद लाकौलले बताउनुभयो। विपद्का समयमा समेत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा अवरुद्ध हुन नहुने उहाँको भनाइ छ।

किशोरकिशोरीलाई समेत उमेरअनुकूल र वैज्ञानिक सूचना उपलब्ध गराउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। सामाजिक सञ्जाल तथा इन्टरनेटबाट प्रजनन स्वास्थ्यसम्बन्धी सूचना लिने क्रम बढेकाले सही र गलत सूचनाबीच फरक छुट्याउन सक्ने गरी जानकारी दिन आवश्यक रहेको उनीहरूको भनाइ छ।

परिवार नियोजनले अनिच्छित गर्भधारण रोक्न मात्र नभई सुरक्षित मातृत्व, उचित जन्मान्तर, आमा र शिशुको स्वास्थ्य तथा परिवारको समग्र जीवनस्तर सुधारमा समेत योगदान पुर्‍याउँछ। त्यसैले रुपन्देहीमा अब साधनको पहुँचसँगै सही सूचना, विश्वासिलो परामर्श र सेवाग्राहीको रोजाइलाई केन्द्रमा राखेर परिवार नियोजन सेवा अघि बढाउनुपर्ने देखिएको छ।

सम्बन्धित शिर्षक :