कोभिड–१९ : तिलोत्तमाले बनायो एक करोडको प्रकोप व्यवस्थापन कोष

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले एक करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष बनाएको छ ।

कोभिड–१९ को सँभावित जोखिमलाई मध्यनजर गरी यस अघि ८० लाख रुपैयाँ रहेको प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा २० लाख थपेर एक करोड पु¥याइएको हो ।

उक्त कोषमा नगरप्रमुख बासुदेव घिमिरेले व्यक्तिगत ५० हजार रुपैंयाँ दिएका छन् । यस्तै उपप्रमुख जागेश्वरदेवी चौधरीले १० हजार रुपैंयाँ र नगरपालिकामा कार्यरत करिब दुई सय जना कर्मचारी र पाँच सय जना शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

कर्मचारी, शिक्षकको तलब जम्मा हुँदा र उद्योगी–व्यवसायीको सहयोगपछि प्रकोप व्यवस्थापन कोष एक करोड भन्दा माथि पुग्ने नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
आफूले नगरप्रमुख वापत पाउने पाँच वर्षको सबै सुविधा सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरेकाले कोषमा व्यक्तिगत रकम दिएको घिमिरेले प्रष्ट पारे ।

‘केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताक्नु भन्दा स्थानीय सरकारले पनि प्रकोप र विपदमा आफै पनि योगदान गर्न सक्छन्’–घिमिरेले भने–‘कोषमा नगर भित्रका उद्योगी–व्यवसायी र नगरवासीले पनि रकम जम्मा गर्न सक्छन् ।’ नगरपालिकाले कोषमा सहयोग गर्न गरेको आव्हानसँगै तिलोत्तमा—१, स्थित होराइजन जिबिएस स्कुलले एक लाख रुपैंयाँ कोषमा राख्ने निर्णय गरेको विद्यालयका प्राचार्य गोपाल आचार्यले बताए ।

त्यस्तै तिलोत्तमा—८, प्रदीपनगर निवासी समाजसेवी चिन्तामणि चालिसेले कोषमा पाँच हजार पाँच सय रुपैंयाँ दिने घोषणा गरेका छन् । नगरपालिकाले एनआइसी एशिया बैंकमा रहेको प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न नगरवासीमा अपिल गरेको छ ।

कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसंग जुध्न सहयोग मिल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले बताए ।

कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नम्बर १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भइरहेको स्वास्थ्य संयोजक मोती पौडेलले बताए।

सम्बन्धित शिर्षक :