ओली-प्रचण्डको विशेष निर्देशन : कोरोना रोकथामका लागि हरेक कार्यकर्ता स्वयंसेवक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी र जनवर्गीय संगठनका हरेक नेता–कार्यकर्तालाई कोरोनाको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकका रूपमा परिचालित हुन निर्देशन दिएका छन् । पार्टीका तर्फबाट शुक्रबार विशेष परिपत्र जारी गर्दै ओली र प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन् ।

‘विश्वस्तरमा झनपछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरिहालेमा पनि सुरक्षित तवरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरूलाई स्वयंसेवी भूमिकाका साथ सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ,’ परिपत्रमा भनिएको छ, ‘यसका निम्ति समस्त पार्टीपंक्ति एवं पार्टीनिकटका जनवर्गीय संगठनहरूलाई निम्नानुसार परिचालित हुन निर्देशित गरिएको छ ।’

परिपत्रमा कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायबाट गरिएका लकडाउनलगायतका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई पूर्ण रूपमा पालना गर्न तथा आमजनसमुदायमा पनि त्यस्तै सन्देश प्रवाह गर्न, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरूसँगको समन्वयमा सचेतना, पूर्वतयारी र सहयोगका लागि स्वयंसेवकको भूमिकामा परिचालित हुन निर्देशन गरिएको छ ।

विदेशबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न सघाउन निर्देशन

कोरोनाको संक्रमणबाट जोगिन आफूले नियमित रूपमा साबुनपानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भिडभाडमा नजाने, खोकी वा हाछ्युँ लागेमा कुइना वा टिस्युपेपरले मुख ढाक्ने, अन्य व्यक्तिसँग कम्तीमा तीन फिटको दूरीमा रहनेलगायतका सतर्कताका तरिका अपनाउन तथा परिवार, छरछिमेकी तथा आमजनसमुदायलाई पनि तदनुरूप नै सतर्कता अपनाउन प्रेरित गर्ने काममा सघाउन निर्देशन गरिएको छ ।

हवाईमार्ग वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा रहन प्रेरित गर्ने काममा सघाउन, भाइरसको लक्षण देखिएको व्यक्ति वा लक्षण देखिएको व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिका बारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिन, सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाइनलगायतका पूर्वाधार निर्माण गर्न र तिनका लागि आवश्यक सामग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्ने काममा खटिन पनि निर्देशन गरिएको छ ।

सरकारले नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ महत्वपूर्ण कदम चालेको भन्दै परिपत्रमा सरकारका कदमहरूलाई स्वागत, समर्थन गर्न र साथ दिन पनि निर्देशन गरिएको छ । साथै, कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्नेमा संकीर्ण स्वार्थमा अल्झिएर भ्रम फिँजाउने वा सीमित साधनस्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रवृत्तिहरू कतैबाट पनि प्रकट हुनु वाञ्छनीय नहुने पनि परिपत्रमा उल्लेख छ ।

‘हामी आफू कोरोना भाइरसको संक्रमणबाट जोगिएर र आफ्नो देशलाई जोगाएर मात्र विश्वस्तरबाट यस महामारीलाई नियन्त्रण गर्नका लागि योगदान दिन सक्नेछौँ । तसर्थ, हाम्रो पार्टी कोरोना भाइरसद्वारा सिर्जित विश्वव्यापी महामारीको यस समस्यालाई र यसको प्रकृतिलाई यही गम्भीरताका साथ लिन र यथेष्ट सतर्कता एवं सक्रियताका साथ परिचालिन हुन समस्त पार्टीपंक्तिलाई निर्देशित गर्दछ,’ परिपत्रमा अगाडि भनिएको छ, ‘त्यसैगरी अभूतपूर्व एवं असाधारण राष्ट्रिय एकताका साथ सम्भावित बढ्दो खतराको सामना गर्न सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आग्रह गर्दछ ।’ नया पत्रिकामाबाट

सम्बन्धित शिर्षक :