लुम्बिनी प्रादेशिक अस्पताल लगातार उत्कृष्ट: एमएसएस मूल्याङ्कनमा पाँचौँपटक प्रथम

स्वास्थ्यसमाचार /रुपन्देही लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।

अस्पतालले यस वर्ष पनि सेकेण्डरी बी लेभल अस्पतालहरूको उक्त मूल्याङ्कनमा देशभरका अस्पतालहरूमध्ये सबैभन्दा बढी ९० अङ्क प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो ।गतवर्ष पनि ८९ अङ्क पाएर पाएर प्रथम भएको थियो । त्यो भन्दाअघि ८० र ७६ अङ्क पाउँदा पनि प्रथम भएको अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमले बताए ।

अस्पतालमा बुधवार आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले बोल्दै प्रदेशको समग्र स्वास्थ्य सेवा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले गुणस्तरीय, पहुँचयोग्य र सर्वसुलभ स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, प्रविधिको प्रयोग तथा सेवा प्रभावकारितामा निरन्तर सुधार गर्दै अघि बढिएको उल्लेख गरे।

मन्त्री सारूले लुम्बिनी प्रादेशिक अस्पताल लगातार पाँचौँ पटक ‘एमएसएस ’ मूल्याङ्कनमा प्रथम हुनु प्रदेशकै लागि गौरवको विषय भएको बताए। उनले यो उपलब्धि अस्पताल व्यवस्थापन, स्वास्थ्यकर्मीको समर्पण, अनुशासन र सेवाप्रतिको प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गरे। उनले भने एमएसएस मूल्याङ्कनमा उत्कृष्ट हुनु केवल पुरस्कार प्राप्ति मात्र नभई सेवाग्राहीले पाउने सेवाको गुणस्तरको प्रत्यक्ष सूचक हो। “यसले अस्पतालप्रति नागरिकको विश्वास अझ मजबुत बनाएको छ,” उनले भने।

मन्त्री सारूले प्रदेशका अन्य स्वास्थ्य संस्थाहरूलाई पनि लुम्बिनी प्रादेशिक अस्पतालको अभ्यासबाट सिक्दै सेवा गुणस्तर सुधारतर्फ उन्मुख हुन आग्रह गरे। साथै, आगामी दिनमा प्रदेश सरकारले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड पूर्ण कार्यान्वयन गर्ने, सेवा विस्तार गर्ने र आधुनिक प्रविधियुक्त स्वास्थ्य प्रणाली विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

उनले स्वास्थ्य क्षेत्र सुधार बिना समग्र विकास सम्भव नभएको उल्लेख गर्दै राज्यको ध्यान अब रोगको उपचारसँगै रोकथाम, जनचेतना अभिवृद्धि र प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरणमा केन्द्रित गरिने बताए।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी ले बोल्दै लुम्बिनी प्रदेशको स्वास्थ्य प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशनालय निरन्तर सक्रिय रहेको बताए। उनले प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सेवा गुणस्तर सुधार, अनुगमन प्रणाली सुदृढीकरण र तथ्यांकमा आधारित योजना निर्माणमा विशेष जोड दिए।

चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल ले लगातार पाँचौँ पटक एमएसएस मूल्याङ्कनमा प्रथम स्थान हासिल गर्नु समग्र प्रदेशकै स्वास्थ्य क्षेत्रको लागि प्रेरणादायी उपलब्धि भएको बताए।

कार्यक्रममा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनका प्रमुख डा जगन्नाथ तिवारी ले बोल्दै एमएसएस मूल्याङ्कनको उद्देश्य र महत्वबारे विस्तृत गराउदै एमएसएस मूल्याङ्कन स्वास्थ्य संस्थाहरूमा न्यूनतम सेवा स्तर कायम रहेको छ कि छैन भन्ने सुनिश्चित गर्न, सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुने सुनिश्चित गर्न र सुधारको लागि मार्गनिर्देशन दिनका लागि सञ्चालन गरिन्छ। यो लुम्बिनी प्रादेशिक अस्पतालले कायम गरेको देखियो उनले भने ।

उनले एमएसएस मूल्याङ्कनका मुख्य मापदण्डहरू—सेवा पहुँच, मानव संशाधन व्यवस्थापन, औषधि र प्रविधिको उपलब्धता, सुरक्षा र दर्ता व्यवस्थापन—को पालना अस्पतालले उत्कृष्ट रूपमा गरेको उल्लेख गरे।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्याङ्कनमा प्राप्त अहिले नतिजा पर्याप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले हालसम्म भएका कार्यप्रगति र भावी योजनाबारे जानकारी गराए ।अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तरगत गाइनोतर्फ डेडिकेटेट अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएसमार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा बिस्तार, चौबिसै घण्टा बिमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरू भएको जानकारी गराए ।

वेस्ट म्यानेजमेन्टका लागि अटोक्लिप मेशिनको प्रयोग तथा प्रशोधन गरी बाहिर पठाउने व्यवस्था, आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको बताए । अस्पतालमा हाल ९० जना विशेषज्ञ चिकित्सकसहित ९५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको उल्लेख गरे । कार्यक्रमको संञ्चालन प्रशासन प्रमुख प्रेम गौतमले गरेका थिए ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :