लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विशिष्टिकरण र प्रविधिमा फड्को

लुम्बिनी प्रदेश सरकारको १२ करोड लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा

स्वास्थ्यसमाचार  लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो एक वर्षमा सेवा विस्तार र प्रविधिको प्रयोगमा उल्लेखनीय प्रगति हासिल गरेको छ। मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार अस्पतालले बिरामीलाई सहज, छिटो र गुणस्तरीय सेवा दिन विभिन्न पूर्वाधार तथा प्रविधिगत सुधार गरेको हो।

अस्पतालले प्रसूति तथा बालरोग भवनमा अत्याधुनिक चार वटा शल्यक्रिया कक्ष स्थापना गरेको छ भने १४ शय्याको पोस्ट अपरेटिभ र ८ शय्याको रिकभरी वार्डसहितको सुविधा सम्पन्न अपरेसन थियटर सञ्चालनमा ल्याएको छ। आकस्मिक कक्षमा बढ्दो बिरामी चापलाई मध्यनजर गर्दै ४५ शय्याको मेडिकल वार्डलाई स्तरोन्नति गरी ९० शय्यामा विस्तार गरिएको छ।

प्रविधिको क्षेत्रमा पनि अस्पतालले फड्को मारेको छ। बिरामीलाई सहज बनाउन अनलाइन टिकट प्रणाली सुरु गरिएको छ भने बिलिङ काउन्टरहरूमा डाइनामिक डिजिटल पेमेन्ट सुविधासहित छुट्टै डिजिटल काउन्टर स्थापना गरिएको छ। प्रयोगशाला जाँचका रिपोर्ट अब एसएमएसमार्फत बिरामीको मोबाइलमै उपलब्ध हुने तथा अटोमेटिक डिस्प्याच मेशिनबाट आफैं प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ।

भीड व्यवस्थापनका लागि ३५ वटा टिकट काउन्टरमार्फत सेवा प्रवाह भइरहेको छ, जसमा १० वटा काउन्टरबाट एकैसाथ टिकटिङ र बिलिङ सेवा उपलब्ध गराइएको छ। स्वास्थ्य बीमा अन्तर्गतका बिरामीलाई विशेष प्राथमिकता दिइएको अस्पतालले जनाएको छ।

उपचार सेवातर्फ एमआरआई सेवा सञ्चालनमा ल्याइएको छ भने अत्याधुनिक न्यूरो माइक्रोस्कोपमार्फत जटिल नशासम्बन्धी शल्यक्रिया र आर्थोस्कोपी मेसिनमार्फत जोर्नीसम्बन्धी उपचार सेवा विस्तार गरिएको छ। उपकरण अभावका कारण बन्द रहेका मूत्र प्रणाली र ल्याप्रोस्कोपिक विधिबाट गरिने पित्तथैलीको शल्यक्रिया पुनः सञ्चालनमा ल्याइएको छ। साथै, मूत्र प्रणालीमा रहेका पत्थरीको उपचारका लागि थुलियम लेजर मेसिन जडान गरिएको छ।

कार्डियोलोजी विभागमा टीएमटी, हल्टर मोनिटरिङ र एबीपीएम सेवा थपिएको छ भने इएनटी विभागमा अडियोमेट्री सेवा सुरु गरिएको छ। स्तन क्यान्सरको समयमै पहिचानका लागि मेमोग्राफी सेवा तथा छुट्टै ब्रेस्ट क्लिनिक सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी रेडियोलोजी र इन्डोस्कोपी सेवामा ५०० एमएको डिजिटल एक्सरे मेसिन जडान गरिएको छ भने इन्डोस्कोपी सेवामा रहेको लामो पर्खाइ घटाउन थप मेसिन व्यवस्थापन गरिएको छ।

आकस्मिक अवस्थामा रगत अभाव नहोस् भनेर इमर्जेन्सी ब्लकभित्रै छुट्टै ब्लड बैंक स्थापना गरिएको मेसु ढकालले जानकारी दिए।अस्पतालले सेवा विस्तार र प्रविधिको प्रयोगमार्फत बिरामीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।

१२ करोड लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवाको शुभारम्भ भएको छ । अस्पतालको ११६ औं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार एमआरआई सेवा शुभारम्भ गर्नु भएको छ ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा करिब १२ करोड लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो ।

सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताउनु भयो ।

विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उहाँले बताउनु भयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :