स्वास्थ्य संस्था संचालक संघको अध्यक्षमा पुर्वे निबिरोध निर्वाचित

स्वास्थ्यसमाचार/स्वास्थ्य संस्था संचालक संघ नेपाल (होडान) ले आफ्नो प्रथम साधारणसभा सम्पन्न गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।

अध्यक्षमा पुनः मदन कुमार पुर्वे चयन भएका छन् भने उपाध्यक्षमा रामहरी थापा, महासचिवमा रघुनाथ पनेरू र कोषाध्यक्षमा पुजा चौधरी रहेका छन्। कार्यसमितिका सदस्यहरूमा खिमराज अधिकारी, अञ्जली रोक्का, लक्ष्मी नारायण उपाध्याय, राजेन्द्र चौधरी र कृष्ण अधिकारी रहेका छन्।

कार्यक्रम अध्यक्ष मदन कुमार पुर्वेको अध्यक्षतामा सुरु भएको थियो। स्वागत मन्तव्य रामहरी थापाले दिएका थिए भने खुल्ला सत्र रघुनाथ पनेरूले सञ्चालन गरेका थिए।

साधारणसभामा सल्लाहकार शमशेर नेपालीले होडानले विगत ६ महिनामा उल्लेख्य काम गरेको उल्लेख गर्दै संघले राज्य र सरोकारवालासँगको सम्बन्ध मजबुत बनाएकोमा गर्व व्यक्त गरे। उनले होडानले व्यवसायी र स्वास्थ्य संस्थाहरूको हितमा महत्वपूर्ण पहल गरेको बताए।

त्यस्तै, सोम राज लिम्बूले शुभकामना मन्तव्य दिँदै सबै व्यवसायीलाई राज्यले समान व्यवहार गर्नु पर्नेमा जोड दिए। उनले स्वास्थ्य सेवा क्षेत्रमा पारदर्शिता र समान अवसर सुनिश्चित गर्न संघले खेल्ने भूमिका महत्वपूर्ण हुने बताए।

साधारणसभामा संघका सदस्य, स्वास्थ्य संस्था सञ्चालक र विभिन्न सरोकारवालाहरूको उपस्थिती रहेको थियो। नयाँ कार्यसमितिले आगामी वर्षहरूमा स्वास्थ्य सेवा सञ्चालन र व्यवस्थापनमा सुधार, सदस्य संस्था सुदृढीकरण, तालिम तथा क्षमता विकासका कार्यक्रमहरू अघि बढाउने योजना बनाएको छ।

कार्यक्रम अन्त्य गर्दै अध्यक्ष पुर्वेले नयाँ कार्यसमितिको सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल (होडान) लाई अझ प्रभावकारी बनाउन सबै सदस्यहरूको सहकार्य आवश्यक रहेको बताए।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :