लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बीमा बोर्डबाट स्वीकृत २४ करोड ७१ लाख भुक्तानी नआउँदा औषधि कर्मचारी र सेवाग्राही जोखिममा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालले वर्षौदेखि बीमा प्राधिकरणबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।

अस्पतालले स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाडौँलाई पत्राचार गर्दै बीमा कार्यक्रम बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी गराएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालका अनुसार अस्पतालबाट दाबी रकम मध्ये बीमा बोर्डबाट स्वीकृत भएको रकम २४ करोड ७१ लाख रुपैयाँ प्राप्त हुन नसक्दा औषधी तथा उपकरण खरिदमा समस्या सिर्जना हुनुका साथै कर्मचारीहरुलाई सेवा सुविधा समेत उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको छ ।

दैनिक करिब एक हजार पाँच सय सेवाग्राहीले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सेवा लिने यस अस्पतालमा दाबी रकम भुक्तानी नहुँदा आर्थिक संकट पर्दै गएपछि बीमा कार्यक्रमनै स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगिको मेसु डा. ढकालले गुनासो गरे ।

अस्पतालले बीमा कार्यक्रम अन्तरगत उपचार सेवा उपलब्ध गराए अनुसार विभिन्न वर्षहरुमा गरी कूल ७३ करोड ४२ लाख दाबी गरेकोमा बीमा बोर्डले ५० करोड ५४ रुपैयाँमात्रै उपलब्ध गराउन स्वीकृत गरेको छ । जसमध्ये हालसम्म २५ करोड ८३ लाख रुपैयाँ मात्रै रकम प्राप्त भएको छ ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम विभागका प्रमुख दिपेन्द्र पौडेलका अनुसार बीमा कार्यक्रममा सेवाग्राहीको आकर्षण बढ्दै गएपनि सरकारलेनै समयमा अनुदान उपलब्ध नगराउँदा सेवा प्रभावित हुने अवस्थामा पुगेको छ । बीमा सेवालाई प्रभावकारी बनाउनका लागि फार्मेसी तथा फार्मेसी काउन्टर वृद्धि, अटोमेटिक रिपोर्ट डिस्प्याच मेशिन जडान लगायतका कामहरु भएका छन् ।

हाल बीमा कार्यक्रमका लागि मात्रै अस्पतालमा ३९ जना कर्मचारीहरु कार्यरत रहेको बीभागका प्रमुख पौडेलले जानकारी दिए । विभाग प्रमुख पौडेलका अनुसार अस्पतालले उपचार सेवा उपलब्ध गराए बापत दाबी गरेर पठाएको रकममा समेत बीमा बोर्डले मानोमानि रुपमा कटौटी गरेर थोरै रकम मात्रै स्वीकृति गर्ने गरेको गुनासो गरे ।

अस्पताल बिका समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा गर्दै पनि बीमा बोर्ड स्वीकृत गरेको रकम समेत नपठाउँदा सेवानै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गरे । सरकार र बीमा बोर्ड गम्भिर हुनुपर्ने बताउँदै उनले जनताको स्वास्थ्यसेवासँग प्रत्यक्ष जोडिएको विषयमा कसैले पनि खेलवाड गर्नु गलत भएको बताए ।

स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य बीमा सेवाका लागि प्रथम विन्दु (फर्स्ट कन्ट्याक पोइन्ट) घोषणा गरेपछि सेवाग्राहीको चाप थप वृद्धि भएपनि अनुदान रकम समयमा प्राप्त गर्न नसक्दा आवश्यक उपकरणहरु खरिदमा समस्या पर्नुका साथै औषधि आयातकर्तालाई समयमा भुक्तानी दिन नसक्दा संकट उत्पन्न भएको छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :