तिलोत्तमा शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगर घोषणा

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ ।

शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्यपोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरे ।

जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शुन्य अवस्था र पूर्णसरसफाईका सूचकहरु पूरा गरेसँगै तिलोत्तमालाई खुला पोलिथिन शुन्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र घोषणा कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको हो ।यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टिमले तिलोत्तमाको अनुगमन गरेको थियो । नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ ।

नगरबासीको घर–आँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थलबाट सात महिनाको अवधिमा झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शुन्य पोलिथिन घोषणा गरिएको हो । १२६ वर्ग किलोमिटरमा फैलिएको तिलोत्तमाका नगरबासीले अब उप्रान्त फोहोर जथाभावी नफाल्ने, फालेमा कारवाही भोग्न तयार रहने कसम खाएका छन् ।

कार्यक्रममा मन्त्री भुसालले नेपालमा तिलोत्तमाबाट सरसफाईंको ईतिहासमा नयाँ कामको सुरुवात् भएको बताउँदै शुन्य पोलिथिन अभियान नागरिकको दायित्वबोधसँग जोडिएको बताए ।शुन्य पोलिथिनलाई फोहोरमाथि धर्तीको विजयीको संज्ञा गर्दै मन्त्री भुसालले यो अभियान कसैले न कसैले सुरु गर्नुपर्नेमा त्यो तिलोत्तमाबाट सुरु हुनु तिलोत्तमाबासीका लागि सुखद् रहेको बताए ।

तिलोत्तमाका हरेक निर्णय नगरबासीको जीवनशैलीसँग जोडिन थालेको बताउँदै उहाँले सरसफाईंमा तिलोत्तमाबाट नयाँ राष्ट्रिय अभियान प्रारम्भ भएको उल्लेख गरे ।
प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले तिलोत्तमाबाट सुरु भएको शुन्य पोलिथिन अभियान राष्ट्रव्यापी हुने विश्वास व्यक्त गर्दै यो घोषणा ऐतिहासिक रहेको बताए ।

प्रदेश सांसद दधिराम न्यौपानेले शुन्य पोलिथिन अभियान तिलोत्तमा आसपासका अन्य पालिकाहरुले पनि सञ्चालन गर्नुपर्ने बताउँदै यो अभियान सोंच, आनीबानी रुपान्तरणसँग जोडिएको बताए।

जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले लुम्बिनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रख्यात बनाउन शुन्य पोलिथिन अभियान रुपन्देहीका सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्ने बताउँदै यसमा आफूले अग्रसरता लिने प्रतिबद्धता जनाए । सफा, सुन्दर र संस्कारयुक्त व्यवहारले मात्र पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँदै प्रमुख विश्वकर्माले नेपालमा सुरु हुनुपर्नेमध्येको एउटा काम तिलोत्तमाबाट सुरु हुनु सबैको लागि खुशीको विषय रहेको बताए ।

तिलोत्तमामा शुन्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको छ । नगरका सार्वजनिक स्थानमा कम्तिमा एक हजार डष्टबिन राख्ने नगरपालिकाको योजना छ । फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि जनसहभागिता वास सहकारीसँगको सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण थालिएको छ ।

बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । यहाँका विद्यालय तथा टोल–टोलमा माई पकेट, माई फष्ट डष्टबिन अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने कुराको प्रचार गरिएको छ ।सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ भने जथाभावी फोहोर फ्याक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानुन निर्माण गरिएको छ ।

यी सबै विषयले शुन्य पोलिथिन घोषणालाई स्थायित्व गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । सिम नेपालसँगको सहकार्यमा यहाँ सात महिनादेखि शुन्य पोलिथिन अभियान चलाइएको हो । रुपन्देहीकैं मध्यभागमा अवस्थित तिलोत्तमा नगरपालिकालाई स्वच्छ, सफा, हराभर बनाउने उद्देश्यले जनप्रतिनिधि आएसँगै २०७४ साउनबाट नियमित सञ्चालन हुँदै आएको सरसफाई अभियान हाल ५७ औं श्रृंखलामा पुगेको छ ।

नगर प्रमुख घिमिरेले नगरबासीको सक्रिय सहभागिताका कारण शुन्य पोलिथिन अभियानले मूर्त रुप लिएको बताउँदै यो अभियानमा झण्डै एक लाख नगरबासी सहभागी भएको बताए । शुन्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान, कुलो–नहर विगतको तुलनामा सफा देखिएका छन् ।
शुन्य पोलिथिन अभियानको प्रभावको सन्दर्भमा वातावरणविद्, सरकारी अधिकारी तथा सञ्चारकर्मीहरुले अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा नगरबासीमा चेतनाको स्तर निकै बढेको पाइएको अनुगमनमा संग्लन प्रा.डा. भैया खनालले बताए । उनले शुन्य पोलिथिन अभियानले कृषि प्रणाली तथा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै यसको निरन्तरताका लागि नगरबासी आफैं क्रियाशील रहनुपर्ने बताए ।

‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ सरसफाई अभियान सञ्चालन भैरहँदा पोलिथिनजन्य फोहोरले मानव स्वास्थ्य, सहरी सौन्दर्य, कृषि उत्पादन र वातावरणमा सबैभन्दा बढी नकारात्मक असर पारेको तथ्यलाई मनन गरी नगरपालिकाले सिम नेपालसँगको सहकार्यमा शुन्य पोलिथिन अभियान चलाएको हो ।
मुलुकका ७५३ स्थानीय तहमध्ये पहिलो पटक तिलोत्तमाको १२६ वर्गकिलोमिटर क्षेत्रमा वर्षौंदेखि डम्पिङ भएर बसेको पोलिथिन फोहोर संकलन गरी व्यवस्थापन गरिएको सिम नेपालका अध्यक्ष वातावरणविद् निपेश ढाकाले बताए ।

यो अभियानको सफलता माटोमाथिको विजयी भएको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिन तिलोत्तमाबासीलाई आग्रह गरे । तिलोत्तमा उपप्रमुख जागेश्वरी चौधरीले नगरबासीले यो अभियानमा देखाउनु भएको सक्रियता, सहकार्य र कर्तव्यबोधले तिलोत्तमाबासी हुनुलाई एकपटक फेरी गौरवान्वित बनाएको उल्लेख गरिन । यो अभियानको सफलताले तिलोत्तमाबासीको चेतनास्तर, दायित्वबोध र सहकार्यलाई मुलुकभर परिचित गराएको प्रवक्ता सुरेन्द्र श्रीको भनाइ छ ।

सम्बन्धित शिर्षक :