ज्वरो १०२ डिग्रीभन्दा कम भए कोरोना संक्रमणको आशंका गर्नु पर्दैन : डा आचार्य

वुहानबाट फर्केका डाक्टर  डा रमेश आचार्य भन्दछन

ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको डा रमेश आचार्यले बताएका छन् ।

उनी तिनै चिकित्सक हुन्, जो कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान प्रान्तमा थिए । र, तीन हप्ताअघि नेपाल फर्केपछि खरिपाटी भक्तपुरमा व्यवस्था गरिएको क्वारेनटाइनमा २ हप्तासम्म रहेका थिए ।

मन्दिर जाँदा सावधान

राजधानीमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतसमेत उपस्थित एउटा कार्यक्रममा डा आचार्यले कोरोना भाइरस ३० डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा फैलिन नसक्ने पनि बताए । ‘चर्को घाममा २ घण्टाभित्रमा यो भाइरस निष्क्रिय भएर जान्छ’ उनले भने, ‘त्यसैले, यो भाइरसको संक्रमणलाई लिएर आत्तिनु पर्दैन । तर, सतर्क रहन भने आवश्यक छ ।’

ज्वरो नाप्नका लागि हरेक मानिसले घर, पसल, कार्यलयमा थर्मोमिटर राख्नुपर्ने सुझाव दिएका उनले भिडभाड हुने ठाउँमा भने कोरोना संक्रमणको खतरा बढी हुनेमा सचेत गराए ।

‘मन्दिरमा भिडभाड हुने भएकाले केही समयको लागि ‘लकडाउन’ गर्न जरुरी छ’ उनले भने, ‘मन्दिर जाँदा खाली खुट्टा नहिडौँ, मोजालाई एक पटक प्रयोग गरिसकेपछि धोएर चर्को घाममा सुकाएर मात्रै प्रयोग गरौँ ।’

कोरोना संक्रमण देखिए संकटकाल

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको बताएका थिए । कोरोनाको संक्रमण देखिए तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी उपचार गर्ने तयारी भएको उनले स्पष्ट पारे ।

नेपालमा भाइरसको प्रकोप देखा परे सरकारले संकटकाल घोषणा गर्ने मन्त्री रावतले जानकारी दिए । ‘क्षमताले भ्याएसम्म स्वास्थ्य मन्त्रालयले सम्पूर्ण पूर्व तयारी गरिरहेको छ,’ उनले भने, ‘मन्त्रालयले संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी कोरोना संक्रमणको जोखिम न्यूनिकरणको प्रयास गरेको छ ।’

सरकार हरेक नागरिकको सुरक्षा गर्न पछि नपर्ने उल्लेख गर्दै मन्त्री रावतले विदेशबाट आउने नेपाली नागरिकले आगामी दिनमा कोरोनामुक्त रहेको प्रमाणपत्र साथमा लिएर प्रवेश गर्न पाउने उल्लेख गरे ।नयाँ पत्रिकाबाट साभार गरिएको ।

सम्बन्धित शिर्षक :