‘स्वास्थ्य पत्रकारिता: कला र कौशल’ विमोचन

स्वास्थ्य समाचार।स्वास्थ्य पत्रकारिताका विषयमा केन्द्रित रहेर लेखिएको पुस्तक ‘स्वास्थ्य पत्रकारिता: कला र कौशल’ विमोचन गरिएको छ।

स्वास्थ्य पत्रकार मञ्चको दशौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार पुस्तक विमोचन गरेका हुन्।

पुस्तकमा स्वास्थ्य पत्रकारिताका विषयवस्तुहरु, ध्यान दिनु पर्ने विषय र हुन सक्ने गल्तीदेखि तथ्यजाँच कसरी गर्ने, सन्तुलित र विश्वसनीय समाचार कसरी लेख्ने, जटिल चिकित्सा विषयहरूलाई सरल भाषामा कसरी प्रस्तुत गर्ने र स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रमहरूबारे कसरी समाचार लेख्ने जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको छ।

स्वास्थ्य पत्रकार प्रवीण ढकाल र पत्रकार तथा अनुसन्धानकर्ता श्रीमन शर्माले उक्त पुस्तक लेखेका हुन्।स्वास्थ्य पत्रकारिताका विषयमा नै केन्द्रित रहेर प्रकाशन भएको यो पुस्तक नै पहिलो हो। उक्त पुस्तक हर्ड इन्टरनेसलले प्रकाशन गरेको हो। एक सय ४७ पृष्ठको उक्त पुस्तकमा विभिन्न २६ वटा अध्यायहरु रहेका छन्।

लेखकद्वय ढकाल र शर्माका अनुसार यस पुस्तकमा स्वास्थ्य पत्रकारिताको सैद्धान्तिक पक्षदेखि लिएर यसको व्यावहारिक प्रयोगसम्मका विभिन्न आयामहरूलाई समेट्ने प्रयास गरिएको छ। पुस्तक स्वास्थ्य क्षेत्रमा रुचि राख्ने सञ्चारकर्मीलाई मात्र नभएर चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरुका लागि पनि उपयोगी हुने उनीहरु बताउँछन्।

लेखक ढकाल हाल स्वास्थ्यखबर डटकममा सम्पादकका रुपमा कार्यरत छन्। २०६३ सालदेखि पत्रकारितामा सक्रिय ढकालले नागरिक दैनिक, नयाँ पत्रिका दैनिक, सौर्य दैनिक र एजुकेशनल पेजेज पाक्षिकमा काम गरेका छन्।

ढकालले स्वास्थ्य पत्रकारिताका क्षेत्रमा १७ वर्षभन्दा बढी समयदेखि कलम चलाउँदै आएका छन्। ढकालको सम्पादकीय नेतृत्वमा नेपाल चिकित्सक संघमा ७५ वर्षको अवधिमा भएका ३२ जना डाक्टरहरुको जीवनी रहेको ‘चिकित्सक नेतृत्व’ नामक पुस्तक समेत प्रकाशित छ।

लेखक शर्मा हाल हर्ड इन्टरनेशनलमा रिसर्च अपटेक म्यानेजरको रुपमा कार्यरत छन्। पत्रकारिता, विकास तथा स्वास्थ्य सञ्चार, मिडिया अध्ययन र अनुसन्धानको क्षेत्रमा उनीसँग २० वर्षभन्दा बढीको पेशागत अनुभव छ। उनका लेख तथा रचनाहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान जर्नलहरुमा प्रकाशित छन्।

सम्बन्धित शिर्षक :