निःसन्तानका लागि वरदान आइभिएफ, कानुनको अभावमा विकृति बढ्दै

स्वास्थ्यसमाचार/ निःसन्तान दम्पतीका लागि आशाको किरण मानिने आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा नेपालमा विकृतिसँग जुधिरहेको छ। खासगरी आइभिएफसँग सम्बन्धित स्पष्ट कानुन नहुँदा अवैध कारोबार र अनियमितता बढ्दै गएको पाइएको छ।

हालै काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी सेन्टरका सञ्चालकहरूले १८ वर्षभन्दा कम उमेरकी बालिकाहरूको डिम्ब अवैध रूपमा निकालेर कारोबार गरेको आरोपमा पक्राउ परेका थिए। यद्यपि ती सञ्चालकहरू साधारण तारेखमा छाडिएका छन्।

नेपालमा आइभिएफ सेवा सञ्चालन गर्ने, शुल्क निर्धारण गर्ने, डिम्ब र शुक्रकिट दान गर्ने मान्यता, प्रक्रिया लगायतका विषयमा कुनै स्पष्ट कानुन नहुँदा विकृति बढेको विज्ञहरूले बताउँछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस समस्या समाधान गर्न फर्टिलिटीसम्बन्धी कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको छ। गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माका अनुसार कार्यविधिले २१ वर्ष पुगेकी महिलाले मात्र डिम्ब दान गर्न पाउने व्यवस्था गर्नेछ र आइभिएफ शुल्क तथा सेवा सम्बन्धी स्पष्ट नियमहरू बनाइनेछ। कार्यविधि आगामी १५ दिन भित्र सार्वजनिक हुने अपेक्षा छ।

नेपालमा हालसम्म २५ वटा फर्टिलिटी केन्द्रलाई स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छ, जसमा अधिकांश काठमाडौँ उपत्यकामा छन् भने केही प्रमुख सहरहरूमा पनि छन्।

फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन) का अध्यक्ष डा. भोला रिजालले कानुनको अभावमा आइभिएफ क्षेत्रमा समस्या बढेको र स्पष्ट कानुन आवश्यक रहेको बताउनुभएको छ।

नेपालमा निःसन्तान समस्या बढ्दै गएको छ भने फर्टिलिटी सेवा सुरक्षित, पारदर्शी र नियमित बनाउन कानुनी व्यवस्थाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको डा. भोला रिजालले  बताउनुभएको छ।