स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय स्वास्थ्य मन्त्रालय बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा लुम्बनी प्रदेशका मन्त्रालयहरुमा सबैभन्दा धेरै वित्तिय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक दीपक ज्ञवालीका अनुसार चालु आवको २५ असारसम्म प्रतिशतका हिसाबले धेरै बजेट खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय रहेको छ । स्वास्थ्य मन्त्रालयले कुल बजेटको ८६.०४ प्रतिशत बजेट खर्च गरेको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले निरन्तरको फलोअप, ताकेता र सबै कर्मचारीहरुको सहयोगले स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय भएको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८१/०८२ मा विनियोजित बजेटमध्ये ७२.४३ प्रतिशत खर्च गरेको छ । यो तथ्याङ्क गत आवको तुलनामा ६.२९ प्रतिशतले बढी हो । गत आवमा लुम्बिनीमा ६६.१४ प्रतिशत बजेट खर्च भएको थियो ।
लुम्बिनी सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये ७२.४३ प्रतिशत अर्थात् २८ अर्ब २२ करोड ५९ लाख ६६ हजार ३२० रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक ज्ञवालीले जानकारी दिए ।
जसमा पुँजीगततर्फ कुल २४ अर्ब ५८ करोड रुपैयाँमध्ये ७२.८७ प्रतिशत अर्थात् १७ अर्ब ९१ करोड रुपैयाँ बजेट खर्च भएको देखिन्छ । त्यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँमध्ये ७१.६८ प्रतिशत अर्थात् १० अर्ब ३० करोड ९९ लाख रुपैयाँ खर्च भएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा कम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कुल बजेटको ६.०९ प्रतिशत खर्च गरेको छ । अहिले यो मन्त्रालय सामाजिक विकास मन्त्रालयमा मर्ज भएको छ ।
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार वलीले हरेक वर्ष प्रदेशको आन्तरिक स्रोतभन्दा बढाएर बजेट ल्याउँदा शतप्रतिशत खर्च नहुने अवस्था रहँदै आएको बताए ।
प्रतिकया दिनुहोस्