लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ देखी विशेष सर्जरी कार्यक्रम सञ्चालन हुने

स्वास्थ्यसमाचार/शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अस्पतालमा पित्त थैलीको शल्यक्रियाका लागि लामो समयदेखि पालोमा रहेका सेवाग्राही हरुलाई विशेष कार्यक्रम सञ्चालन गरी उपचार गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए ।

अस्पतालमा आगामी असार १ गतेदेखि एक महिना लामो अभियान सञ्चालन गरी पालोमा रहेका सबै सेवाग्राहीको पित्त थैलीको शल्यक्रिया गरिने उनले जानकारी दिए । यो अभियान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको उनले बताए ।

उक्त अभियान सञ्चालनका लागि अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै २०८२ असार १ गतेपछि पालो परेका सबै सेवाग्राहीले आफ्नो नाम दर्ता गराई विशेष सर्जरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

जेष्ठ २२ गतेसम्म शल्यक्रियाका लागि पालोमा रहेका बिरामीको नाम दर्ता गरी असार १ गतेदेखि विशेष कार्यक्रम लागू गरिने अस्पतालका मेसु डा. ढकालले जानकारी दिए । उक्त कार्यक्रममा ३ सय जना बढीले सेवा लिने अनुमान गरिएको उनले बताए ।

अस्पताल बिस्तार कार्यक्रम अन्तरगत लुम्बिनी प्रादेशिक मा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना भएपछि यसअघि सञ्चालनमा रहेको अपरेशन थिएटरबाट सेवा थप सहज बन्दै गएको छ । अस्पतालका प्रशासकीय प्रमुख राजन केसीका अनुसार विगत ३ वर्षको तथ्याङ्क मूल्याङ्कन गर्दा औसतमा वार्षिक करिब १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ ।

पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।सेवाग्राहीको चाप र जनगुनासोलाई कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

विशेषगरी साविक लुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी तथा प्युठानबाट समेत उपचारका लागि यहाँ आउने गर्दछन् ।

अस्पताल प्रतिको जनगुनासो कम गर्नुका साथै विशिष्टिकृत सेवाहरूलाई थप गर्दै लैजाने तथा भएका सेवाहरूलाई थप गुणस्तरीय बनाउनेमा अस्पताल परिवारले योजनावद्ध क्रियाकलाप सञ्चालन गर्दै आएको मेसु ढकालले बताए ।

 

सम्बन्धित शिर्षक :