पाल्पामा सरकारी अस्पतालको आकस्मिक र अप्रेसन कक्ष भवन बन्दै

स्वास्थ्यसमाचार/पाल्पा अस्पतालको आकस्मिक र अप्रेसन कक्ष लागि भवन निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको ५० लाख र अस्पताल विकास समितिको २० लाख लगानीमा भवन निर्माण हुन लागेको हो ।

असार १५ गते भित्र सक्ने गरी ५६ लाख २५ हजार एक सय ७३ रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएर काम अघि बढेको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । अहिले आकस्मिक र अप्रेसन कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालबाट फर्काउनुपर्ने बाध्यता रहेको छ । भवन निर्माण भएपछि सेवा विस्तारमा सहज हुने अध्यक्ष आत्रेयले विश्वास व्यक्त गर्नुभयो ।

भवनको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले शिलान्यास गर्नुभएको छ । भवनको शिलान्यास गर्दै स्वास्थ्यमन्त्री सारुले पाल्पा अस्पतालमा आउने बिरामीले आधारभूत सेवा दिने गरी भवन निर्माणको लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले आफू मन्त्री भएलगत्तै अस्पतालमा अनुगमनका क्रममा अप्रेसन र आकस्मिक कक्षको अभाव देखेपछि बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो । भवन बनेपछि गम्भीर बिरामीले अस्पतालभित्रै सेवा पाउने मन्त्री सारुले बताउनुभयो ।

शिलानयास कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले भवन निर्माण गर्दा गुरुयोजना र कार्य योजना बनाउने कुरामा ध्यान दिन सुझाव दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउनुपर्ने बताउनुभयो । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पा अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि नगर सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ५० शैयाको अस्पतालमा परिणत भए पनि पूर्वाधार अभावले सेवा प्रवाहमा समस्या देखिएको उल्लेख गर्नुभयो । समितिका सदस्य तथा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले अस्पतालका लागि जग्गा व्यवस्थापनको अन्तिम टुंगो लगाउने प्रक्रियामा रहेको बताउनुभयो ।

अस्पताललाई ५० शयैयाको अस्पतालका रूपमा स्तरोन्नति गरिए पनि आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या रहेको छ । यहाँ दैनिक बिरामीको संख्या बढ्दै गए छ । एक सय वर्ष पुरानो भवनबाट सेवा दिइरहेको अस्पतालले नयाँ भवन नहुँदा विशेषज्ञ सेवा विस्तार गर्न पाएको छैन ।

अस्पतालले भने पुरानै भवनबाट भएपनि गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ । भवन निर्माणका लागि मोहनकन्या माविको छात्राबास रहेको क्षेत्र अस्पतालले माग गर्दै आएपनि त्यसको निर्णयभने हालसम्म हुन सकेको छैन ।

सम्बन्धित शिर्षक :