स्वास्थ्यसमाचार/अर्घाखाँची अस्पतालले न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गरेको छ ।
अनुगमन, मूल्यांकन तथा समीक्षात्मक कार्यक्रमपछि विज्ञ टोलीले अस्पतालको कार्यसम्पादन मूल्यांकन गरी ९४% अंक प्रदान गरेको घोषणा गरेको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा सम्पन्न कार्यक्रम अस्पताल विकास समिति सदस्य तथा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला हुनुहुन्थ्याे । उहाँले अर्घाखाँची अस्पतालको उत्कृष्ट कार्यसम्पादनका लागि अस्पताल प्रमुख डा. जगनाथ तिवारी, सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा निक्स साइमन संस्थालाई बधाई तथा धन्यवाद व्यक्त गर्नु भयाे ।
उहाँले अस्पतालको भौतिक संरचना, दक्ष स्वास्थ्यकर्मी व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाहका लागि निरन्तर प्रतिबद्ध रहेको बताउनु भयाे ।
कार्यक्रममा अस्पताल प्रमुख डा. तिवारीले अस्पतालका कार्य प्रगति, चुनौतीहरू तथा भावी योजनाबारे प्रस्तुति दिनुभएकाे थियाे । अनुगमन मूल्यांकन टोलीका प्रमुख डा. नरूल मोहम्मद होदा (पृथ्विचन्द्र अस्पताल, नवलपरासी) ले अर्घाखाँची अस्पतालका सबल पक्ष र सुधार गर्नुपर्ने पक्षबारे जानकारी गराउँदै दुई दिने अनुगमनको निष्कर्ष प्रस्तुत गरेको थियो ।
नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्घाखाँची अस्पतालको सुविधा सम्पन्न भवन निर्माण, ब्लड बैंक स्थापन, बालरोग, महिला तथा हाडजोर्नी विशेषज्ञ सेवा सञ्चालनका लागि प्रदेश मुख्यमन्त्री र विभागीय मन्त्रीसँग छलफल भइरहेको बताउनु भयाे । उहाँका अनुसार, नगरपालिकाले पनि अस्पतालको सुदृढीकरणका लागि आवश्यक सहयोग प्रदान गर्दै आएको छ ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नूमलाल पन्थी, सन्धिखर्क नगरपालिका वडा नं. १ का अध्यक्ष माधव श्रेष्ठ, स्वास्थ्य कार्यालय प्रमुख शिव नेपाली, स्वास्थ्य निर्देशनालयका डा. अच्युत शर्मा न्यौपाने (कन्सल्टेन्ट कम्युनिटी फिजिसियन), तथ्यांक अधिकृत मानबहादुर वली, जनस्वास्थ्य अधिकृत अस्मिता नेपाल, MSS अधिकृत सन्देश पौडेल, अर्घाखाँची जनस्वास्थ्य अधिकृत कृष्ण पोख्रेल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष रुद्रमणि भुसाल, अस्पताल व्यवस्थापन सुदृढीकरण समिति सदस्य हिम लेकाली लगायतको उपस्थिति थियो ।
कार्यक्रम अस्पताल व्यवस्थापन अधिकृत शिव बन्जाडे को सञ्चालन तथा नर्सिङ अधिकृत सुनिता आचार्यको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो । अर्घाखाँची अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
प्रतिकया दिनुहोस्