स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नहुँदा देश पछि पर्‍याे: स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दक्ष जनशक्ति नहुँदा हाम्रो देश पछि परिरहेको बताउनुभएको छ ।

युनाईटेड मिसन अस्पताल, तानसेनको एस.वि.ए. तालिम ५९ औं ब्याच तथा एम.एल.पी. ४० औं ब्याच तालिम समापन समारोहमा बोल्दै मन्त्री सारुले नेपालमा कम मात्रामा दक्ष जनशक्ति उत्पादन हुने र देशमा बस्ने प्रवृति नहुँदा देश पछि परिरहेको बताउनुभएको हो ।

उहाँले सुत्केरी भएको ४८ घण्टा पछि ४६ प्रतिशत आमाहरूको मृत्युदर रहेको भन्दै अवस्था गम्भिर रहेको बताउनुभयो ।

उहाँले अनुसन्धानले सेवा प्रवाहमा कमजोरी हुँदा ६८ प्रतिशत सेवाग्राही हरुले छोडेर जाने बताउनुभयो । मन्त्री सारुले गुणस्तरीय सेवा प्रवाह नहुँदा सेवाग्राही हरुले सेवा प्रदायक संस्थालाई विश्वास नगर्ने र त्यो संस्था छोडेर जाने वातावरण रहेको बताउनुभयो ।

मन्त्री सारुले सेवाग्राहीले सहज रुपमा देख्न सक्ने गरि सेवा र शुल्क सहितको नागरिक बडापत्र राख्न निर्देशन दिइएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशका १४ वटै सरकारी अस्पतालहरुमा यो लागु गरिएको बताउनुभयो ।

युनाईटेड मिसन अस्पतालका तालिम संयोजक लेस डोर्ननले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । उहाँले तालिममा सिकेका ज्ञान र अनुभवलाई आफ्नो ठाउँमा आएका बिरामीहरु प्रयोग गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले पाल्पाको मिसन अस्पतालमा तालिम लिन पाउनु निकै राम्रो भएको बताउनुभयो । उहाँले तालिमले पहिले दिईरहेको सेवा भन्दा थप सेवा दिन सक्ने आत्मविश्वास बढाएको बताउनुभयो ।

तालिम संयोजक पशुपति न्यौपानेले तालिम भन्दा पहिले २५ प्रतिशत ज्ञान रहेकोमा तालिम पछि ९७ प्रतिशत प्रगति भएको बताउनुभयो ।

स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुवन कुँवरले आफ्नो कार्यक्षेत्रमा गएर कति गर्ने लगनशीलताको आधारमा नतिजा प्राप्त हुने बताउनुभयो । उहाँले तालिम केन्द्रले सञ्चालन गरेका तालिमहरूको नतिजा फलो अप गरिरहेको भन्दै नतिजा आएन भने कुनैपनि तालिमको औचित्य नहुने बताउनुभयो ।

उहाँले आवश्यकता भन्दा धेरै बर्थिङ सेण्टरहरु भएको भन्दै त्यसको व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।अस्पताल प्रशासन प्रमुख जीवन भट्टराईले विगत ७१ वर्षदेखि पाल्पामा युनाईटेड मिसन अस्पतालले पाल्पाको स्वास्थ्य क्षेत्रमा सहज पहुँच नभएका नागरिकहरुलाई सेवा दिईरहेको बताउनुभयो ।

तालिमका सहभागीहरु पृथ बहादुर बानियाँ र लक्ष्मी पौडेलले आफ्नो कार्यक्षेत्रमा गएर सिकेका सीपलाई सिकाउने र सकेसम्म धेरै प्रयोग गर्ने बताउनुभयो । मंसिर १३ गतेदेखि ६० दिनसम्म चलेको तालिममा रोल्पा, दाङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, बर्दिया, रुकुमलगायतका जिल्लाबाट सहभागीहरु उपस्थित थिए ।

सम्बन्धित शिर्षक :