स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितीका अध्यक्ष एवं सदस्यहरुको पदस्थापन गरिएको छ ।यहि पुष १० गते सम्पन्न अधिवेशनबाट एजाज आलमको अध्यक्षतामा सर्वसम्मत रुपमा संस्थाको नया नेतृत्व चयन भएको थियो।
संस्थाको निर्वाचन समितीका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरुको तर्फबाट तिल प्रसाद भटराई र होमराज बस्याल, बिशिष्ठ सदस्यहरुको तर्फबाट बावुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ,संस्थागत सदस्यहरुको तर्फबाट उपेन्द्र कुमार अग्रवाल, र खुल्ला सदस्यहरुमा दिनेशराज रेग्मी, हिरामणी भटराई, शिव कुमार पाठक, खिमनारायण पराजुली, बोनिन पिया र रुद्र बहादुर हमाल भटराई निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी संस्थाको खुल्ला महिला सदस्यमा रेनुका खरेल र बोनिका शर्मा भटराई तथा लेखा संयोजक पदमा लोकनाथ पाण्डे र सदस्यहरुमा मणिरत्न पाण्डे तथा रविलाल पोखरेल निर्विरोध निर्वाचित भएका थिए।
त्यसैगरी अस्पताल सञ्चालनमा सहकार्य गर्ने संस्थाहरुबाट पदेन सदस्य हुने ब्यवस्था अनुसार रोटरी क्लव अफ डाउन टाउनबाट जिवन अधिकारी, रोटरी क्लवअफ साउथ बाट प्रेम भुर्तेल, रोटरी क्लव अफ बुटवल बाट प्रज्वल थान्जु र रोटरी क्लव अफ सेन्ट्ल बुटवलबाट पुरन ज्ञवाली चयन भएका छन्। भने अध्यक्ष आलमले भगवती पाण्डे र सुरज क्षेत्रीलाई सदस्यमा मनोनित गरेका थिए।
पदस्थापन समारोहलाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालले संस्थाले स्वास्थ्य क्षेत्रमा गरेको सेवा प्रशंसनीय रहेको बताए। उनले प्रदेश सरकारले गर्नपर्ने स्वास्थ्यका धेरै काममा समुदाय र निजी क्षेत्रले गरेको सहयोग आम नागरिकको स्वास्थ्य उपचारका लागि महत्वपुर्ण रहेको बताए।
कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थीले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै काम गर्न बांकी रहेको उल्लेख गर्दै सरकारले समुदाय संग मिलेर स्वास्थ्य क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्नु पर्ने बताए।
कार्यक्रममा संबिधानसभा सदस्य नेत्र प्रसाद पन्थी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे लगायतले आ आफ्ना भनाई राखेका थिए।
यसैबिच संस्थाको नव निर्वाचित कार्यसमितीको बैठकले संस्थाको बिधान अनुसार जिम्मेवारी बांडफाड गरेको छ। बैठकले संस्थाको उपाध्यक्षमा दिनेशराज रेग्मी, तथा पदेन उपाध्यक्षमा दिलिप सापकोटा, सचिवमा बावुराम बोहोरा, सहसचिवमा भगवती पाण्डे, कोषाध्यक्षमा प्रेम भुर्तेल, तथा सह कोषाध्यक्षमा उपेन्द्र कुमार अग्रवाललाई जिम्मेवारी दिएको छ।
२०७० साल पुष १० गते स्थापना भएको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले बुटवलको रामनगरमा मुटु अस्पताल तथा मिगौला उपचार केन्द्र सञ्चालन गर्दै आएको छ भने पाल्पाको तानसेन नगरपालिका बन्दि पोखरा, स्याङजाको वालिङ, दाङको लमहि र कपिलबस्तुको बाणगंगा नगरपालिका पिपरामा डाईलासिस सेन्टर सञ्चालन गर्दै आएको छ।
संस्थाका अध्यक्ष एजाज आलमका अनुसार अस्पतालले स्थापना देखि हाल सम्म ओपिडीबाट ३ लाख ७० हजार ८२ जना, ईमरजेन्सीबाट ५१ हजार २ सय ८४ जना र भर्ना बिरामी ३९ हजार दुई सय छ जना गरी ४ लाख ६० हजार ५ सय ७२ जनाको उपचार गरेको छ।
यसका साथै अस्पतालले ३ हजार ९७ जना बिरामीको एन्जियोग्राफी, १ हजार १३० जनाको एन्जियोप्लाष्ट, ५७८ जनाको अस्थायी पेशमेकर र १०५ जनाको पेरिकार्डियोसेन्टीसिस गरीएको आलमले बताए।
आलमले अहिले अस्पतालमा बरिष्ठ मुटुरोग बिशेषज्ञ ५ जना मुटुरोग बिशेषज्ञ १ जना,मृगौला रोग बिशेषज्ञ १ जना जनरल फिजिसियन २ जना रेडियोलोजिष्ट एकजना एमडी क्रिटिकल केयर १ जना र मेडिकल अधिकृत १६ जना तथा अन्य सिएमए, अनमी स्टाफनर्स, बिएसी नर्सिङ लगायत गरी ३०३ जना कर्मचारीहरु कार्यरत रहेको बताए।
आलमले राजधानी बाहिर सबैभन्दा धेरै मुटुरोग बिशेषज्ञ भएको अस्पतालको रुपमा मुटु अस्पतालले फरक पहिचानका साथ सेवा प्रवाह गरि रहेको बताए।अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले लुम्विनी प्रदेशका करिव ८ सय मिर्गौलाका बिरामी मध्ये ५०१ जना बिरामीले यस अस्पतालबाट निशुल्क उपचार सेवा लिईरहेको बताए।
प्रतिकया दिनुहोस्