दाङमा हात्तीपाइले रोग नियन्त्रण गर्न आइडिएफ इम्प्याक्ट सर्भे गरिने

स्वास्थ्यसमाचार/ दाङमा हात्तीपाइले रोग नियन्त्रण गर्न आइडिएफ इम्प्याक्ट सर्भे गरिने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत दाङमा आइडिएफ इम्प्याक्ट सर्भे कार्यक्रम सञ्चालन हुन लागेको हो ।

सर्भेपछि प्राप्त नतिजा अनुसार मात्रै नेपाल सरकारले दाङमा हात्तीपाइले विरुद्धको औषधी अभियान पुनः सञ्चालन गर्ने वा यो अभियानलाई बन्द गर्ने भन्ने निर्णय लिने बताइएको छ ।

आइडिएफ इम्प्याक्ट सर्भेका लागि प्राविधक टोली खटिइसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सर्भेका लागि दाङ जिल्लाका १० वटा पालिकालाई ३० वटा क्लस्टरका रूपमा विभाजन गरिएको छ । एउटा क्लस्टरबाट कम्तिमा एक सय पाँचजनाको स्याम्पल लिएर प्रयोगशाला परीक्षण गरिने बताइएको छ ।

दिउँसोको रगत परीक्षण गर्दा हात्तीपाइले एन्टिजेन पोजेटिभ आएमा त्यस्ता व्यक्तिको मध्य रातमा समेत रगतको स्याम्पल लिएर परीक्षण गरिनेछ । सर्भेको नतिजापछि मात्र यो वर्ष दाङ जिल्लामा हात्तीपाइले विरुद्धको आम औषधी अभियानलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा नेपाल सरकारले निर्णय लिने अभिमुखीकरण कार्यक्रममा जानकारी गराइयो ।

प्राविधिक टोली, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मी घरघरमा पुगेर सर्भेको काम सुरु गरेको घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेश कुमार पाण्डेयले जानकारी दिनुभयो । यो वडा घोराहीको मुख्य वजार क्षेत्र पर्छ । सर्भेका लागि खटिएको टोलीलाई सहयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

‘सर्भेका लागि आउने टोलीलाई सहज रूपमा कामगर्ने वातावरण बनाइदिन सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नु पर्छ’, उहाँले भन्नुभयो ।सर्भे सुरु हुनुअघि सरोकारवालासँग अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रम वडाध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षानिकायमा प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।