शुन्य पोलिथिन घोषणा मात्र होइन,कार्यान्वयन पनि कडाइपुर्वक :नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले थालेको खुला शुन्य पोलिथिन अभियान अन्तर्गत शनिबार ३६ मौजा नहर सफाई गरिएको छ । ३६ मौजा सिंचाई प्रणालीको अगुवाइमा सयौं किसानहरुले नहर सफाई गरेका हुन् ।

नहरसफाई कार्यक्रमको उदघाटन योगिकुटीमा नगरप्रमुख वासुदेव घिमिरे र जमुहानीमा उपप्रमुख जगेश्वरदेवी चौधरीले गरेका थिए । ३६ मौजा सिंचाई प्रणाली अन्तर्गत करिव ३५ सय हेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ ।

कुलो तथा नहरमा बग्ने फोहरसमेत रोक्नेगरी नगरपालिकाले थालेको अभियानलाई साथ दिंदै किसानहरु आफै नहरभित्र पसेर फोहर संकलनमा जुटेका हुन् । ३६ मौजा अन्तर्गतका सातवटा क्षेत्रमध्ये वडा नम्बर १ र २ को योगीकुटी, ३ को शारदा स्कुल, ४ को प्रगति चोक, वडा नम्बर ५ को पुरानो हेल्थपोष्ट चार नम्बर, ६ को पुरानो सातकुले गाईघाटे र वडा नम्बर ७ को जमुहानीबाट सफाई अभियान सुरुवात गरिएको थियो ।

तिलोत्तमा नगरपालिकाले बुटवल उपमहानगरपालिका हुँदै नहरमा बगेर जाने फोहरसमेत जाली लगाएर रोक्ने प्रयास गरेपनि नहरमा अझै फोहर थुप्रिन थालेपछि सिंचाई प्रणालीले किसानहरुलाई सहभागी गराएर फोहर संकलन गरेको हो ।किसानहरूले सिंचाईका लागि लैजाने तिनाउ नदीको पानी बग्ने नहर छेउँछाउँका बासिन्दाले घरको ढलसँगै शौचालयको निकाससमेत नहरमा मिसाउने गरेको पाइएपछि किसानहरुले त्यसो नगर्न सचेत गराएका छन् ।

योगीकुटीमा अभियानको शुभारम्भ गर्दै नगरप्रमुख वासुदेव घिमिरेले नगरबासीकै सहभागितामा सिंगो नगरपालिका खुला शुन्य पोलिथिनमुक्त हुने क्रममा रहेको भन्दै अव जथाभावी फोहर गर्ने क्रम रोकिने बताए । “जथाभावी फयाँकिएको फोहरले स्थानीयकै स्वास्थ्यमाथि गम्भीर असर पुयाउँछ, तसर्थ यसतर्फ नगरबासी आफै सचेत हुनु जरुरी छ–उनले भने–शुन्य पोलिथिन घोषणा मात्र होइन, यसको कार्यान्वयन पनि कडाइपुर्वक गरिने छ ।

जमुहानीमा अभियानको शुभारम्भ गर्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नहरमा फ्याँकिने प्लाष्टिकजन्य फोहरले किसानको खेतबारीमा असर पु¥याउने र उत्पादन घट्ने भन्दै नहरलाई पुर्णरुपमा स्वच्छ राख्नुपर्नेमा जोड दिइन् । छत्तीस मौजा सिंचाई प्रणालीका अध्यक्ष कृष्ण पौडेलले फोहर र प्लाष्टिकका कारण खेतीयोग्य जमिन जर्जर भएको र उत्पादनमा ह्रास आएको भन्दै अव नहरमा फोहर फयाँक्न नदिइने र नगरपालिकाको खुला शुन्य पोलिथिन अभियानलाई सफल पारिने बताए ।

नहर आसपासका ब्यापारी तथा बासिन्दाले नहरमा फाल्ने प्लाष्टिकका झोला तथा बोत्तल, कपडा, अस्पतालजन्य फोहरका कारण किसानहरुको खेत छपक्कै ढाकिने गरेको भन्दै उनले यसका विरुद्ध सबै किसान सरसफाईमा जुटेको र चेतना फैलाउने काम गरेको उनले बताए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष एवं सरसफाई उपसमितिका संयोजक विष्णु प्रसाद भट्टराईले आफ्नो फोहर ब्यवस्थापन गर्ने दायित्व सम्वन्धित बासिन्दाको भएको भन्दै अव नहरमा प्लाष्टिकजन्य र अरु कुनैपनि खाले फोहर नफ्याँक्न सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरे ।

 

संस्थाका सचिव रुकु पाण्डेले ३६ मौजा सिंचाई प्रणालीअन्तर्गत हाल ५७ मौजा पुगिसकेको भन्दै ठूलो संख्यामा किसानहरुले खेती गर्ने नहर भएकाले यसलाई सफा र स्वच्छ राख्नु जरुरी रहेको बताउँदै खुला शुन्य पोलिथिन बनाएरै छाड्ने बताए । सरसफाईमा जुटेका किसानहरुले नहरमा पसेर त्यहाँ भएको फोहर बोरामा संकलन गरेका थिए ।

सम्बन्धित शिर्षक :