प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न स्वास्थ्यमन्त्री सारुको आग्रह

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गरेका छन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२४ का अवसरमा शुभकामना सन्देश दिँदै प्रतिजैविक औषधिको न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका हुन् ।

स्वास्थ्यमन्त्री सारुले प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरवी गर्न आवश्यक रहेको समेत वताए । सन्देशमा उनीहरूले नेपाल जस्तो संक्रामक रोगहरूको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपक्षी र बोटबिरुवाका सङ्क्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिको मुख्य भूमिका रहेको भन्दै विश्वव्यापी रूपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण बहुमूल्य प्रतिजैविक औषधिको क्षमता घट्न गई संक्रामक रोगको प्रभावकारी उपचारमा चुनौती थपिएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिजैविक प्रतिरोधका कारणले अहिले विश्वभरि करिब १२ लाख मानिसहरूको मृत्यु भइरहेको छ । सन् २०५० सम्ममा वर्षमा करिब ५० लाख मानिसको मृत्यु हुने आकलन गरिएको छ र सन् २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलरसम्मको आर्थिक भार थपिने आकलन गरिएको छ । यसबाट सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा बाधा पुग्न सक्ने देखिन्छ ।

“यसरी बढिरहेको प्रतिजैविक प्रतिरोधको समस्या मानव स्वास्थ्य लाई प्रत्यक्ष असर पारेको छ । त्यसैले यस समस्यासँग जुध्न एक स्वास्थ्य रणनीति २०७६ अनुसार अगाडि बढ्न आवश्यक छ,” उनीहरूको सन्देशमा भनिएको छ, “एन्टिबायोटिक लगायतका औषधिहरूको जिम्मेवार पूर्ण प्रयोगलाई प्रवर्द्धन गर्दै संक्रमण रोकथाममा सुधार गर्न, प्रतिजैविक प्रतिरोधको निगरानीलाई निरन्तरता दिन तथा वैकल्पिक उपचार र रोकथामका उपायहरूको अनुसन्धान गर्ने कार्यलाई कार्यान्वयन गर्नुपर्दछ ।”

सन्देशमा सरकारले एक स्वास्थ्य रणनीति अनुरूप बहुपक्षीय संलग्नतामा प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना विधिवत् रूपमा स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको उल्लेख गर्दै उच्चस्तरीय प्रतिबद्धताका साथ ल्याइएको यो कार्य योजनाले एक स्वास्थ्य क्षेत्रका सरोकारवाला बीचको सहकार्यमा प्रतिजैविक प्रतिरोध न्यूनीकरणमा तथा दिगो विकास लक्ष्य हासिल गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

मङ्सिर ९ गतेसम्म ‘प्रतिजैविक प्रतिरोधः बुझौँ, बुझाऔँ, आजैबाट रोकथाममा जुटौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरिन नेपालमा पनि मनाइँदै छ ।

सम्बन्धित शिर्षक :