चिकित्सा पेशाको कुन्डली /भाग्य वा मिहिनेत वा सक्षमता ?

चिकित्सक हुनुभन्दा पहिले सो चिकित्सक एउटा व्यक्ति हो । साधारण मानव हो । जसका आफ्ना इच्छा र आकांक्षा हुन्छन् । मन पनि हुन्छ । सोचाइ विचार सबै हुन्छ । चिकित्सकीय पेशालाई स्कुलमा निकै उच्च मूल्यांकनका साथ पढाइने गरिन्छ । ठूलो बनेपछि डाक्टर इन्जिनियर बन्नुपर्छ भन्दै रटाइन्छ । जसको निरन्तरता कलेज पढ्ने समयमा पनि गरिन्छ ।

जुन कुराको दृश्य पुतलीसडकमा देख्न सकिन्छ । पढाइमा अब्बल मानिने सबै विद्यार्थीको ध्यान केवल मेडिकल शिक्षा प्रवेश गर्नेमा रहन्छ । जुन मेरो पनि थियो ।

त्यो समयमा केवल पढाइमा मात्रै ध्यान केन्द्रित हुन्छ । विश्व जगतमा उठ्ने चिकित्सकीय पेशाका तमाम प्रश्नहरु फगत आलोचना र नकारात्मक चिन्तनबाट उब्जिएका विषयवस्तु हुन् जस्तो लाग्छ । आफ्नो दैनिकीलाई प्रत्यक्ष प्रभावित नपार्ने घटनाहरुलाई चासो दिने गरिन्न । जस्तै कतै पुल भत्कियो भन्ने समाचारलाई

कति महत्वका साथ लिने गरिन्छ भन्ने कुराले आफुलाई प्रत्यक्ष असर पर्नुपर्यो वा साँच्चै चिन्तित स्वभावको व्यक्ति हुन पर्छ । त्यस्तै चिकित्सकीय विषय पढ्ने ध्याउन्न भएको ठिटा ठिटीले चिकित्सकमाथि हुने दुर्व्यवहार , न्यून पारिश्रमिक आदि कुरा फगत झुटा हुन् भन्ने लाग्छ ।

अभिभावकले पनि त्यो यथार्थ बुझ्न १२ वर्ष लाग्छ जब आफ्नो सन्तान सबैका निम्ति वरिष्ठ चिकित्सक भएर काममा त हिँड्छ ,तर आफै घरमा भेट्न पाइन्न ।यसरी नै बित्छ ६ वर्ष । पढेर सकिने बेला हुन्छ । साह्रै ठूलो उपलब्धि गरेको महसुस हुन्छ । ६ वर्षको मिहिनेतले ठुलै फड्को मारिन्छ भनेर आशाको बिस्कुन मनमनै सुकाइरहेको बेला वास्तविक कार्यक्षेत्रको दर्शन हुन्छ । एकाएक छतबाट खसेजस्तै हुन्छ ।

सरकारी छात्रवृत्ति पाएर पढेका चिकित्सक दुई वर्षको बन्धन फुकाउन विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा छरिन्छन्। जहाँ कि त समयमा तलब प्राप्त हुन्न । वा कामको चापमा स्थानीयस्तरबाट पेलिएको महसुस हुन्छ। बेला बेला स्थानिय नेता, पत्रकार आदिले थर्काउने अप्ठेरोमा पार्ने कार्यको समाचारले हतोत्साहित बनाउन थाल्छ ।

सुरक्षा साह्रै फितलो भएको महसुस हुन्छ । पढ्ने बेला धेरै वास्ता नगरिएको बेलाबेला घट्ने चिकित्सक कुटपिटको घटना बल्ल स्वयं त्यो कार्यक्षेत्रमा कार्य गर्दा अनुभुति हुन्छ ।

आफूले नखाएको विषले पनि पोल्ने रहेछ । आफ्नो गल्ती नहुदा पनि सबै सामु निरीह हुनुपर्ने रहेछ । आत्मसम्मानमा कति चोट पुग्छ भन्ने कुरा परेपछि र देखेपछि बुझिन्छ । कानुन त हाम्रो लागि सुरक्षा दिन बनेकै रहेनछ । अब तलब र सुविधाको ठूलै आश हुन्छ नि पहिले ।

तर सरकारले दिने तलब त्यही मुस्किलले ५०,००० मात्रै हुन्छ । त्यो पनि नियमित हुन्न । पुनः झसङ्ग हुन्छ मन । दुई वर्षको बन्धन सकिएपछि के गर्ने होला भनेर मनमा खेल्न थाल्छ- एम डि गर्छु । त्यसपछि भइन्छ ” settle ” . तर जति अनुपातमा एम बि बि एस चिकित्सक निस्किने गर्छन् , त्यही अनुपातमा त स्नातकोत्तर तहको सिट हुँदैन । त्यसपछि मन बरालिन थाल्छ ।

दुई वर्ष नसकिँदै नाम निस्कियो भने पनि पढ्न दिँदैन सरकारले । पढ्न दिएको खण्डमा त्यो चिकित्सक यहिँ बसिरहन बाध्य हुने थियो । बन्धन त पछि खापेर पनि त पूरा गर्न सकिन्थ्यो नि । तर सरकार मस्त छ नियम पालना गराउन । लचकता देखिँदैन । वीचमा लोकसेवाको सिट पनि एकदम कम खुल्छ ।

त्यहाँ नाम निकाल्न पनि समस्या नै बन्छ । समय, साइत र भाग्यको भर । लोकसेवा खुलेछ भने बल्ल मिहिनेतको भर । लोकसेवा खुल्नु भाग्य , नाम निस्किनु भाग्य र मिहिनेत । त्यसमाथि लोकसेवाले पढाइको गतिमा कछुवागती बनाइदिन्छ । पढ्न नै पाइन्न निश्चित कार्य समय पूरा नगरेसम्म । दुई वर्षसम्म पढ्न दिन कानुनले रोक्छ।

छात्रवृत्तिमा पढे वापत दुई वर्ष बन्धन सेवाको बारेमा कुरा गर्दा त्यो लादिएको जस्तो प्रतीत हुन्छ । दुई वर्ष करार सेवा गरेपछि कतै प्रोत्साहन हुँदैन । दुर्गममा कार्य गरे बापत पढ्नको लागि सहुलियत वा प्रोत्साहन हुनेभएको भए यतै पढ्ने आकर्षण हुने थियो । दुर्गम अस्पतालमा कार्य गर्ने चिकित्सकलाई सुविधा पनि राम्रो, पढ्नको लागि प्रोत्साहन हुने भए चिकित्सकहरुको मन डुल्ने थिएन । न तलब न सुविधा न प्रोत्साहन । न सुरक्षा ।

एउटा सम्भावना बोकेको मेधावी चिकित्सक अझै के कुराले यहि ठाउँमा अडिरहने त ?न सुरक्षा न तलबभत्ता न शैक्षिक प्रगती । यो सबै बुझेको चिकित्सक एम बि बि एस सकिने बेलाबाट बाहिर जाने तयारी गर्ने गर्छ । र अचेल यो सबै बुझ्ने चिकित्सक धेरै छन् । जसले आफुले पढ्ने बेलाबाट मनमस्तिष्क बनाइसक्छन्। जुन आजको दिनमा सबैभन्दा बुद्धिमानी निर्णय हो भनेर म स्वयंले भन्न सक्छु ।

अब सरकारको बन्धनमा नपरेका चिकित्सकको छुट्टै अनुभव हुन्छ । कुनै न कुनै अस्पतालमा काम त गर्नुपर्यो । प्राइभेट अस्पतालमा काम गर्दा भावनाले भरिएका चिकित्सक बिरामीले खर्च गरेको देखेर नै तर्सिन्छन् । अस्पतालको महङ्गो रेट देखेर मन कता कता कुँडिएको हुन्छ । चित्त बुझ्दैन । काम नगरेर बेरोजगार पनि बस्न सकिन्न । प्राइभेट अस्पतालमा काम गर्दा पनि तलब उही ४० -५० हजार देखेर नै मन आत्तिन्छ । काम धेरै तलब थोरै ।

चित्त बुझ्दो ठाउँ खोज्ने हो भने जागिर पाउन नै मुस्किल हुन्छ । त्यसमाथि चिकित्सकमाथि अस्पताल प्रशासनले गर्ने शोषणले नै विक्षिप्तबनाइरहेको हुन्छ । कन्सल्टेन्ट चिकित्सकहरुको दयनीय अवस्था देखेर पनि यहाँ भविष्य छैन भनेर आँकलन गरिसकेका हुन्छन् । अमेरिका वेलायत अस्ट्रेलिया तिरको सम्भावना खोज्नु जायज मान्न सकिन्छ ।

अब धेरै अटेरी चिकित्सकहरु केही देशभक्ति , केही मनले, केही परिवार आदिको कारणले यतै रहने गर्छन् । र जसोतसो एम डि / एम एस प्रवेश गर्छन् । प्रवेश गरेको तीन वर्ष फेरि पढ्दै बिरामी हेर्दै नै सकिन्छ । पुनः बजारमा आउँदा अवस्था सहज होला नि भनेर आश गरेको चिकित्सक जागिर खोज्दै भौँतारिन्छ । आफ्नै अस्पताल हुने, आफ्नो इष्टभित्रको अस्पताल हुने चिकित्सकले छिटै प्रवेश गर्न पाउँछ । अरुले आफ्नो स्थान सुरक्षित गर्न निकै हम्मे हम्मे पर्छ ।

उदाहरणको लागि आफ्नो सर्टिफिकेट बोकेर अस्पतालमा जागिर खोज्न जाने हो भने पहिले सेयर हाल्नुपर्यो भनेर कुरा आउँछ । अब बल्लबल्ल चिकित्सक बनेको व्यक्तिले कहाँबाट ५० लाखभन्दा माथिको सेयर हाल्न सक्छ । सरकारी छात्रवृत्तिमा पढेको चिकित्सक भने कुनै न कुनै अस्पतालमा पोस्टिङत हुन्छ । तर पुनः तलब हेर्दा ५०-५२ हजार मात्रै देखेर झसङ्ग हुन्छ ।

एउटै संस्थाबाट त अलि मनले नमानेर क्लिनिकमा काम गर्न बाध्य हुन्छन् । तर क्लिनिकमा पनि बिरामीको संख्याले कमाइ हुन्छ । बिरामीले आफुलाई कसरी खोज्ने गराउन सकिन्छ भनेर बुझ्दै जाँदा अप्ठेरो रहेछ । पहिले नै प्राइभेटमा राम्रो कमाइरहेका चिकित्सकहरुको सधैं एकनास भिड हुन्छ भने भर्खर बजारमा प्रवेश गरेको चिकित्सकको दिन सडकमा बित्छ । क्लिनिक बाट क्लिनिक दौडिन बाध्य हुन्छ ।

मेडिकल कलेजमा कार्य गरिरहेका चिकित्सकहरु पनि समयमा तलब नपाएर पिडित नै हुने गर्छन् । त्यही पनि मेडिकल कलेजहरुमा सबै चिकित्सकहरू अटाउन सक्दैनन् ।कसैले बिरामी नपठाएसम्म आफ्नो स्थान बजारमा बन्दै बन्दैन । ठाउँठाउँमा अफुलाई चिनाउन दौडिन पर्छ ।

सेवा भन्दै कति शनिवार र विदाका दिन यत्तिकै जान्छन्। एक दिन त अवश्य दिन आउला । बिरामीहरुले पत्याउलान् । आयबृद्धी होला । यस्तो आश गर्दागर्दै धेरै वर्ष वित्छन् । हाल सबै चिकित्सकको अवस्था यहि नै हो । सरासर

यात्रा गर्न सकेको खन्डमा ६ वर्ष एम बि बि एस , दुई तीन वर्ष कार्य अनुभव , तीन वर्ष स्नातकोत्तर ( एम डि ) कम्तिमा १२ वर्ष पछि कार्यक्षेत्रमा प्रवेश गर्दा पहिलेको मिहिनेतभन्दा फरक मिहिनेत गर्नुपर्ने रहेछ । जुन कुनै करिकुलममा छैन। ठाउँ ठाउँ दौडिन पर्ने , क्याम्प आदि भन्दै हिंड्न् पर्ने ।

बजारमा म आएँ भन्दै झ्याली पिट्नुपर्ने । तर अन्त्यमा बिरामीको भाग्य अटो रिक्सा र एम्बुलेन्सको स्टियरिङमा निर्णय हुने !! यो कस्तो देश हो ? के अब स्टियरिङ आफूतिर घुमाउने दौडमा लाग्ने ? र यो कस्तो अचम्मको मिहिनेत हो, प्रभु ? भगवान पनि चकित पार्ने चर्तिकला गर्नुपर्ने !!

चिकित्सकीय पेशामा पनि बिरामीको संख्या गन्नुपर्ने , बिरामीलाई आफ्नो कमाइको एउटा श्रोत हो भनेर परोक्षरुपमा हेर्नुपर्ने । के यो पेशा व्यापार हो र ? सहज रुपमा सम्मानित न्यूनतम तलब सुविधा, शैक्षिक प्रगतिको बाटो किन तय हुँदैन ? जसले बढी बिरामी हेर्छ उसले बढी कमाउने , जसले कम हेर्छ उसले कम कमाउने । सबैलाई धेरै कमाउन मन हुँदैन । यो कुराकोअन्त्य नहुँदासम्म चिकित्सकीय पेशा शुद्ध हुँदैन ।

जसले बढी कमाउँछन् उनीहरुसँग फुर्सद छैन । जीवन नै व्यस्त हुन्छ । स्वयंलाई हेर्ने समय हुन्न । जीवन निरस हुन्छ । जसले काम गर्ने अवसर पाउन्नन् उनीहरुमा सूक्ष्म तरिकाले चिडचिडाहट भरिँदै जान्छ । र विकल्प खोज्न बाध्य हुन्छ ।

हुनुपर्ने चाहिँ जसले जति शैक्षिक योग्यता हासिल गरेको छ, उसले त्यही बराबरको सुविधा प्राप्त हुनुपर्ने ।पढ्छु र पढाउँछु भन्नेलाई सोही अनुसार पेशागत विकास हुनुपर्ने । बिरामी हेर्छु र रमाउँछु भन्नेलाई सोही अनुरुप कार्य क्षेत्र हुनुपर्ने । चाहे त्यो चिकित्सक सरकारी होस् या गैर सरकारी । अनि बल्ल चिकित्सकहरू पुस्तक पल्टाएर बिरामी हेर्नको लागि फुर्सद पाउनेछन् ।

एम डि गरेर पनि नपुगेर अझै डि एम के जाती पढ्न पर्छ भनेर पढ्न हिंड्न् खोज्दा आफ्नै उमेर ३० माथी कटिसकेको हुन्छ । त्यसपछि पनि उही अचम्मको मिहिनेत गर्नुपर्छ । सवारीसाधनका स्टियरिङ घुमाउनेआफ्नो कार्यक्षेत्रतिर पार्ने, जतासुकै डुलेर भन्नुपर्ने आदि आदि ।

आधा उमेर सकिने बेलामा पनि घरको जिम्मेवारी बोक्न सक्ने ल्याकत बनिसकेको हुन्न । यति लामो यात्रा देखेर विदेशको यात्रा छोटो पर्छ भनेर जसले पनि आंकलन गर्न सक्छ । यसरी कुरा गर्दा हरेक कुरा सुविधासँग जोडेको जस्तो लाग्न सक्छ । तर सोही ज्ञान र सीपको लागि बाहिर देशमा उच्च मुल्यांकन गरिन्छ भने लालायित हुनु कसरी जायज ठहरिनन् र !!
चिकित्सक बाहेक सबै जनालाई लालायित हुन छुट छ यो देशमा । र छुट दिनुपर्छ ।

देशभक्ति र माटो भक्तिको पाठ सिकाउन हुन्न । अरुलाई नलाग्ने देशभक्ति के चिकित्सकलाई नै लाग्नुपर्ने हो ?सबैभन्दा महत्वपूर्ण कुरा स्थिरता र पेशागत विकास हो । यहाँ त एकपटक कुनै कोप्चामा काम गर्न पुगियो भने केही समयमा स्वत : सरुवा हुनुपर्नेमा विभाग धाउनुपर्छ ।

चिनेको नेता व्यक्ति कर्मचारी खोज्दै डुल्नुपर्छ । न पैतृक सम्पत्ती न राजनैतिक पहुँच । त्यस्ता चिकित्सक त रुमल्लिनुको विकल्प नै हुँदैन । संघीयता लागू भए पश्चात् स्थानीय तहमा धेरै जना जति विशेषज्ञ चिकित्सक हेल्थपोस्ट सरह संस्थामा काम गर्न बाध्य छन् । किनभने समायोजनको नियमले त्यहाँबाट उम्किन दिन्न ।

आफ्नो क्षमताअनुसार काम गर्न नपाएपछि दिक्दारी बढ्नु स्वभाविक हो । २ किलोमिटर पर भएको जिल्ला अस्पतालमा काम गर्न दिन पनि नियमले रोक्छ । एउटा प्रशासनको कर्मचारीले आफ्नो कार्य गर्दा आफ्नो पोस्ट वा तह अनुसार कार्य गर्छ ।

तर एउटा चिकित्सक पढ्दै जाँदा सीप विकास हुन्छ । र विशेषज्ञको दृष्टिकोणबाट बिरामीलाई केलाउन सक्छ । तर त्यो स्थानीय तहमा अड्केका कति चिकित्सकहरुको सीप र ज्ञान खिया लागिसक्यो । यहाँको सिस्टमबाट आजित भएर बाह्य्य भूमिको अवसर खोज्नु जायज नै हो ।

केही समय यता सरकारले यसको समाधानका लागि केही कार्यविधि नियमहरु बनाएर सहज गर्दै छ । यो सुन्नलाई मात्रै पनि ३ वर्ष बित्यो ।सरकारले केही गरेन त भनेर विश्लेषण गर्दा सरकार निकै जनप्रेमी छ । स्वास्थ्य क्षेत्रको सेवाको हकमा निकै फड्को मारेको छ । कति धेरै सुविधा दिएको छ ।

स्वास्थ्य विमा देखि भ्याक्सिन्सम्म , क्षयरोगको औषधिदेखि कालाजारको औषधि, डायलाइसिस देखि मुटुको अपरेसन, पक्षघात देखि प्रसूतिसम्म आदि रोगहरूमा जनता धेरै नै लाभान्वित छन् ।

निशुल्क गरिएको छ । तर सरकारले कहिल्यै केही नगरेको र उपेक्षित गरेको भनेको चिकित्सकलाई नै हो चिकित्सकलाई आफ्नो पेशा शुद्ध गरेर सुदृढीकरण गर्नको लागि आधारभूत आवस्यकताहरुमा कहिल्यै चासो दिँदैन । चिकित्सकलाई कहाँ नै फुर्सद हुन्छ र व्यापारीहरु जस्तो मोलतोल गरेर बस्न !!

आधारभूत आवश्यकतामा पेशागत सुरक्षा , भौतिक सुरक्षा , आर्थिक सुरक्षा, जीवनयापनका कुराहरुमा विशेष सुविधाहरु त हुन् । प्रगति गर्न सबैले खोज्छन्। कुनै एउटा स्थानमा अडाउन मन स्थिर हुनुपर्छ । पढाइको सङ्घर्षपछि पनि कल्पित जोवन बाँच्नलाई सङ्घर्ष गर्नुपर्ने हो भने कहिलेसम्म माटोको माया भन्दै बस्ने भनेर प्रश्न अवश्य उठ्छ।

डा. खनाल लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित शिर्षक :