राजनीतिक खिचातानीले लुम्बिनी प्रादेशिक अस्पताल अध्यक्ष र मेसु विहिन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति नहुँदा अस्पताल नै अलपत्र अवस्थामा परेको छ । राजनीतिक खिचातानीले जिल्लाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा प्रशासनिक पदहरु अन्योलमा छन् ।

पछिल्लो समय अध्यक्ष र मेसु दुवैलाई अदालतको आदेशबाट काममा रोक लगाएपछि अर्को संकट आइलागेको हो । यही जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका  डा.ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

मुद्दामा लुम्बिनी प्रदेश सरकारलाई पनि विपक्षी बनाइएको छ । मेसु नियुक्त डा. ढकाल १०औं तहका हुन् भने मुद्दा हाल्ने डा. गौतम ११औं तहका हुन् । मेसुका लागि ११ तह आवश्यक पर्ने भन्दै गौतमले ढकालको नियुक्ति बदर माग गरेका छन् ।

डा. गौतमले नेपाल सरकारको मिति २०७८ मंसिर १ गतेको निर्णयअनुसार मेडिकल सुपरिटेन्डेन्ट हुन एघारौं तहको स्थायी डाक्टर हुनुपर्ने उल्लेख भए पनि आफू सोही पदमा अस्पतालमा कार्यरत रहँदारहँदै दशौं तहमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनलाई नियुक्त गरिएको हुँदा कानुनविपरीत रहेको जिकिर गरेका थिए ।

सर्वोच्चले १४ अल्पकालीन अन्तरिम आदेश जारी गरेको भए पनि प्रादेशिक अस्पतालमा १७ गते आदेशको पत्र दर्ता भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा यसअघि  डा.सुदर्शन थापा मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए ।

दैनिक प्रशासन हेर्ने र मासिक कार्ययोजना बनाउने तथा आय व्ययमा अनिवार्य हस्ताक्षर गर्ने पदाधिकारीहरु नहुँदा कर्मचारीहरु समेत प्रभावित भएका छन् । प्रदेश सरकारले केही समयअघि मेसुमा नियुक्ति गरेका डा. इन्द्र ढकाललाई सर्वोच्चले काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । पुरानोबाट काम नहुने भएपछि अहिले अस्पताल मेडिकल सुपरिटेन्डेन्ट विहीन भएको छ । प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले अदालतको आदेशले समस्या पारेको बताउँछन् ।

तत्काल दैनिक काम नरोक्ने गरी मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका स्वास्थ्य निर्देशक डा. विनोद गिरीलाई थप जिम्मेवारी दिइएको छ । तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पताल विकास समिति गठनसम्बन्धी कार्यविधि नै खारेज गरी नयाँ कार्यविधि ल्याएर आफू निकटका व्यक्तिहरूलाई नियुक्त गरेपछि त्यसअघि रहेका अस्पताल विकास समितिका अध्यक्ष अदालत पुगेका थिए ।

अस्पताल विकास समिति खारेज गरी नयाँ नियुक्तिको निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।अदालतको आदेशअनुसार नयाँ नियुक्त अध्यक्षहरूको पद स्वतः खारेज भए पनि त्यसअघि रहेका अध्यक्षहरूलाई समेत काम गर्न कानूनी अधिकार प्राप्त नहुँदा विकास समिति निष्क्रिय रहेका छन् । अदालतबाट पटक–पटक बहसका लागि पेशी सर्दै आएको छ ।

विकास समिति खारेजी तथा नयाँ नियुक्तिको निर्णयविरुद्ध परेका रिट निवेदनमा २०८० मंसिर १९ गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले कार्यान्वयन नगर्न आदेश दिए पनि त्यसपछिका सुनुवाइ तथा बहस हुन सकेको छैन । पटक–पटक पेसी सारेर विकास समिति विहीन बनाउँदा अस्पतालहरूमा नयाँ योजना कार्यान्वयन, स्वास्थ्य सेवाको सुधारलगायतका कामले गति लिन सकेको छैन ।

तत्कालीन मुख्यमन्त्री चौधरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले गत कार्तिक १ गते अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेको थियो । पुरानो कार्यविधि खारेज गरी अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० पारित गरेको थियो । सोही नियमावलीअनुसार प्रदेशका १३ वटा अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरिएको थियो ।

सम्बन्धित शिर्षक :