पश्चिम नवलपरासीमा १५ दिनको अन्तरमा ७१ जनामा डेंगी संक्रमण पुष्टि

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा १५ दिनको अन्तरमा ७१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । साउन १ देखि १५ सम्ममा यहाँका ७१ जनामा डेंगी संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाबाहिर र निजी स्वास्थ्य संस्थामा परीक्षण गराएकाहरुको तथ्यांक यसमा समावेश नभएकाले यो संख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । संक्रमण बढ्दै गएपछि जिल्लाको रामग्राम नगरपालिकाले रोग नियन्त्रण र रोकथामका लागि अभियान सुरु गर्दै छ ।

समुदाय स्तरमा रोग सर्न नदिन लामखुट्टे बस्ने सम्भावित स्थानमा औषधि छर्ने, सफा गर्ने र विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।

डेंगी संक्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । यो लामखुट्टेले सफा, स्थिर र जमेको पानीमा फूल पार्छ, थोरै पानी भए पनि खास गरी वर्षाको समयमा पानी जम्ने टिनका डब्बा, रङका खाली बट्टा, थोत्रो टायरमा यो बस्ने भएकाले यस्ता ठाउँ सफा राख्न स्वास्थ्य कार्यालय परासीका मलेरिया इन्स्पेक्टर देवीलाल पौडेलले बताए ।गत वर्ष यहाँका ३ सय १५ जनामा डेंगी संक्रमण देखिएको थियो ।

सम्बन्धित शिर्षक :