काठमाडौँ,ललितपुर र कैलालीमा हैजाका २०जना संक्रमित फेला: स्वास्थ्यमन्त्रालय

स्वास्थ्यसमाचार/वर्षा लागेसंगै हरेक वर्ष जस्तै देखिने हैजाको संक्रमण यसपटक पनि देखिएको छ । साउन यताको दुई सातामा काठमाडौँ, ललितपुर कैलालीमा गरी कुल २० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसपटक सबैभन्दा सुरुमा ललितपुरको गोदावरी, त्यसपछि कैलालीको धनगढी र पछिल्लो पटक काठमाडौँको कालिमाटी क्षेत्रमा हैजा देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो दुई सातामा देशका तीन जिल्लामा देखा परेको हैजाबाट संक्रमितको संख्या २० पुगेको पुष्टि गरे ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले ललितपुरको गोदावरी क्षेत्रमा १० जना र चापागाँउ र ग्वार्को क्षेत्रमा ११ जना गरी कुल १२ जना, काठमाडौँमा १ जना र कैलालीको धनगढीमा ७ जना गरी कुल २० जनामा हैजाको प्रयोगशालाबाट नै पुष्टि भएको बताए ।

हैजा भएको कसरी थाहा पाउने ?

हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखला हो । यसका मुख्य लक्षण तथा चिन्हहरुमा पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र बाता हुने, कडा जलवियोजन पर्दछन् ।

संक्रमणले गम्भीर अवस्थामा पुरयाउँदा आँखा गडेको जस्तो देखिने, मुख जिब्रो र घाँटी सुख्खा हुने, पिसावको रंग पहेलो हुने, चिडचिडाहपन हुने। रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुने हुन सक्दछ ।तुरुन्तै स्वास्थ्य संस्थामा नपुगे ५० प्रतिशतसम्म मृत्युको जोखिम हुने विज्ञहरु बताउँछन् ।

‘हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदेन तर उनीहरुको दिसामा पहिलो देखि १० दिनसम्म भिब्रियोकोलेरा व्याक्टेरिया रहन सक्छ । लक्षण देखिएकामा पनि करीव ८० प्रतिशतलाई मन्द देखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई मात्रै चौलानी जस्तै दिसा हुने र पानी अभाव तिब्र हुने लक्षण देखिने,’ मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले भने ।

मन्त्रालयले गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखलाका हैजा तथा पानी जन्य रोगहरु फैलने हुँदा सबैलाई सचेत रहन अनुरोध गरेको छ । संक्रमितको मलमुत्रबाट पानीको मुहानलाई जोगाउनु साथै झिगा लागेको, बासी, सडेगलेको , नपाकेको चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान भनेको छ ।

सम्बन्धित शिर्षक :