अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई आइतवार सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेश सभाका १० दल र एक स्वतन्त्र मध्ये ८ दल र ४८ सदस्यको समर्थनमा चैत २३ गते महरा मुख्यमन्त्री बनेका थिए । नयाँ समीकरण अनुसार सरकार बनाउन एमालेले महरालाई दिएको समर्थन फिर्ता लिएपछि असार २० गतेदेखि उनी अल्पमतमा परेका थिए ।

एमालेले समर्थन फिर्ता लिएपछि उनको अहिले उनको समर्थनमा माओवादीका १०, नेकपा एकिकृत समाजवादीका १ र जनमोर्चाको एक गरी १२ जनाको मात्र समर्थन रहेको छ । स्पष्ट अल्पमतमा परेपछि उनले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

राजीनामा दिनु पूर्वको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले माओवादी नेतृत्वको सरकारले केन्द्र र प्रदेश दुवै तिर राम्रा काम गरेको, जनतामा निराशा चिर्न सफल भएको र समकालीन नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सफल व्यक्ति भएको बताए । ‘जनताका निराशालाई आशामा बदल्ने अठोटका साथ अध्यक्ष प्रचण्ड अघि बढीरहनु भएको थियो,’ उनले भने, ‘तर ८८ र ७८ सिटलाई मिलाउँदै सफलता पूर्वक सत्ता संचालन गर्न सक्नु नै गौरव हो, त्यही नै सफलता हो ।’

उनले आफ्नो छोटो अवधिमा पनि प्रदेश सरकारले केही आशा लाग्ने काम गरेको बताए । सहमतीमै बजेट ल्याएका छौं । मन्त्रीपरिषदमा कुनै दिन विवाद र असहमती नभएको, सचिवहरु मन्त्रीहरुका कार्यशैलीप्रति पूर्ण सन्तुष्टी रहेको र सरकारले धेरै राम्रा काम गरेको पनि उनले बताए । असार मसान्तको नजिकै आफु अल्पमतमा परेपनि आफ्नो जिम्मेवारी पुरा गर्नका लागि तत्काल राजीनामा नदिएको बताए ।

‘मैले एमालेका साथीहरुलाई पनि कम्तिमा असार मसान्तसम्म पर्खिनुस भनेको थिएँ,’ उनले भने, ‘तर, उहाँहरुले मान्नु भएन, बिचैमा छोडेर हिंडनु भयो, मैले छोड्न मिलेन र आजसम्म आफ्नो जिम्मेवारी पुरा गरें ।’ स्पष्ट अल्पमतमा परेकाले अब बस्न उचित हुँदैन भन्ने लागेकाले राजीनामा दिने निर्णयमा पुगेको उनले बताए । सरकारमा मुख्यमन्त्रीको रुपमा रहेर काम गर्ने क्रममा मन्त्री र कर्मचारीले निकै माया गरेको पनि उनले बताए । ‘सबैको सहमतीमा बजेट ल्याएका छौं,’ उनले भने, ‘त्यसलाई कार्यान्वयनमा लैजानु होला, मेरो अनुरोध छ ।’ आफु नेतृत्वको सरकारले अघि सारेका योजनाहरुलाई कार्यान्वयनमा लैजाने विश्वास उनले विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री महराले राजीनामा दिएपछि आइतवार नै एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा एमाले कांग्रेस मिलेर सरकार निर्माण गर्ने गरी दुई दलले तयारी गरेका छन् । एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले दुई दल मिलेर एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको बताए । ‘हामी दुई दलले एमाले नेता लीला गिरीको नेतृत्वमा सरकार गठन गर्ने सहमती गरेका छौं,’ उनले भने, ‘प्रदेश प्रमुखले सरकार गठनका लागि आहृवान गर्नासाथ दावी पेश गर्ने गरी तयारी भएको छ ।’

कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने र त्यसमा कांग्रेस सहभागी हुने निर्णय गरेको बताए । ‘अहिले केन्द्रमा भएको सहमती अनुसार नै एमाले नेतृत्वमा सरकार गठन हुन्छ,’ उनले भने, ‘त्यसमा कांग्रेस सहभागी हुन्छ ।’ मुख्यमन्त्री नियुक्तिको प्रकृया अघि बढेपछि सरकारको थप जिम्मेवारी बाँडफाँडको विषयमा छलफल सुरु हुने उनले बताए ।

लुम्बिनीमा ८७ प्रदेश सभा सदस्य छन् । बहुमतका लागि ४४ सदस्य आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सदस्य छन् । दुई दल मिल्दा स्पष्ट बहुमत ५६ मत पुग्छ । नयाँ बन्ने सरकारमा ४ सिट रहेको नागरिक उन्मुक्ति, ३र३ सिट रहेका लोसपा, जनमत, २ सिट रहेको जसपा, १ सिट रहेको जसपा नेपालले पनि समर्थन गर्ने जनाएका छन् ।

सम्बन्धित शिर्षक :