बर्खाको समयमा पानीजन्य सरुवा रोगबाट कसरी जोगिने ?

स्वास्थ्यसमाचार/बर्खा लागेसँगै देशभर मनसुन बलियो हुँदैछ । यो मौसममा पानीजन्य सरुवा रोगहरूका साथै कीटजन्य रोग संक्रमण पनि बढ्ने गर्छ ।

विगत वर्षहरूमा झाडापखाला, हैजा र डेङ्गी लगायत सरुवा रोगहरू महामारीकै रूपमा फैलिएका थिए । यस वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार ४३२ जनामा सङ्क्रमण देखिएको छ ।

उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला बाहेक सबै जिल्लामा डेङ्गी सङक्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा १५९ जनामा डेङ्गी देखिएको छ । झापामा १२० र चितवनमा ८३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

उनले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको जोखिम बढेको जानकारी दिए । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी संक्रमण फैलाउँछ । डा। दाहालले डेङ्गी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। मुकेश पौडेलका अनुसार अहिले फाट्टफुट्ट रूपमा पानीजन्य सरुवा रोग देखिन थालेको छ । जसको निगरानी भइरहेको उनले बताए ।

खबरहबसँग कुरा गर्दै डा पौडेलले भने, ‘विगतका वर्षमा जस्तो महामारीकै रूपमा फैलिएको छैन, तर एक(दुई केशहरू भेटिएको छ । धेरै फैलिन नदिन सरकारले सक्दो प्रयास गरिरहेको छ ।’

दूषित पानीका कारण देखिने रोगहरूः

झाडापखाला
दूषित पानीका कारण यो मौसमा देखिने मुख्य सरुवा रोग झाडापखाला हो । बर्षाको समयमा हामीले खाने धेरैजसो पानी दूषित हुने हुदाँ झाडापखाला देखिने गर्छ । झाडापखालाबाट विशेष गरी बालबालिका बढी प्रभावित हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा। अमरनाथ ठाकुर बताउँछन् ।

शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखाला धेरै देखिने गर्छ । यस मौसममा खाने पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म मिसिने हुँदा झाडापखाला धेरै देखिने गरेको उनको भनाइ छ ।

टाइफाइड
मनसुनको बेला धेरैमा टाइफाइट ज्वरो संक्रमण हुन्छ । साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहमा धेरै खालका जीवाणु हुन्छन्‌ ।

तर टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाइड र प्यारा टाइफाइडका जीवाणुहरू भेटिन्छन् । दूषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरू देखिन्छ ।

यो रोगबाट बढी मात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरू प्रभावित हुने गरेको देखिएको छ । मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । रिङ्गटा लाग्ने, वाकवाकी लागि कसैलाई बान्त पनि हुने, शरीर गल्ने र खान मन नलाग्ने लक्षणहरू देखिने गर्दछन् ।

हेपाटाइटिस ए, बी
हामीले खाने खाद्यान्न र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइटिस ए, बी अर्थात जन्डिस हो । बासी खाने कुरा र दूषित पानीले धेरैमा जन्डिस निम्त्याउँछ ।

शरीरमा पानी मात्रा कम हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाँदा पनि धेरैलाई जन्डिस देखिने गर्छ । सुरुमा ज्वरो आउने र शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हो ।

आउँ र हैजा
हामीले खाने दूषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ तथा हैजा देखिने गर्छ ।पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपूर्ण अङ्गहरूले काम गर्न छोड्ने जस्ता समस्या निम्तिन्छ ।

जसकारण यस मौसममा आउँबाट बच्न हामीले खानेपानी र खाने कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

वर्षा याममा फैलिने कीटजन्य रोगहरू
वर्षायाम शुरु भएसँगै पानी जमेको ठाउँ वरपर धेरै लामखुट्टे बस्छ । यसरी बसेको लामखुट्टेको टोकाइबाट डेङ्गी फैलिने गर्दछ । अहिले पनि देशका ७३ वटा जिल्लामा डेङ्गी देखा परेको र यसलाई फैलिन नदिन सु(सूचित भएर तयारी अवस्थामा बस्नुपर्ने डा। पौडेल बताउँछन् ।

बाढी चलेको केही दिनिभत्र पानी जमेर बसेको वरपर धेरै लामखुट्टे बस्ने गर्छ । यसरी बसेको लामखुट्टेको टोकाइले कीटजन्य रोगहरू डेङ्गी, मलेरिया र स्क्रब टाइफसजस्ता रोग लाग्ने सम्भावना हुन्छ ।

यस्ता संक्रमणबाट बच्न घर बाहिर निस्कँदा बाक्लो कपडा लगाउनुपर्छ । धेरै झाडी भएको ठाउँमा नजाने तथा सुत्दा झुल प्रयोग गर्न डा। पौडेलको सुझाव छ ।

यसरी जोगिन सकिन्छः

पानी उमालेर खाने
बर्खाको बेला बाढी(पहिरो आउने गर्छ । जसले गर्दा हाम्रो घर वरपरका खानेपानीको मुहानहरूमा बाढी पस्छ । खानेपानीको मुहान दूषित हुन्छ ।यसरी बाढी पसेको पानी पिउँदा हामीलाई झाडापखाला र आउँजस्ता संक्रमण हुन्छ ।

त्यसैले पानीलाई उमालेर पिउने गर्नुपर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गर्न सकिन्छ । पानीलाई कम्तिमा पनि एक मिनेटसम्म उमालेर खाने गर्दा यस्ता रोगहरूबाट बच्न सकिने चिकित्सक सुझाउँछन् ।

व्यक्तिगत सरसफाइमा ध्यान दिने
सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ । वर्षात्‌को मौसममास अझ बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुँदा हामीले खाने पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

वर्षात्‌मा दूषित पानीबाट लाग्ने रोगहरूबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दूषित पानीको सेवन नगर्नु र खानेकुरा खानुअघि हात धुनु नै हो । जथाभावी दिसापिसाब गर्नु हुँदैन । खानेकुरा लाई राम्रोसँग पकाएर खानुपर्छ ।

यसका साथै साबुन(पानीले हात धुने गरे पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरिसकेपछि, खाना बनाउनु अघि, खाना बाँड्नुअघि र खाना खानुभन्दा पहिले पहिला साबुनपानीले हात धुनु आवश्यक हुन्छ । विशेषगरी बालबालिकालाई यस्ता रोगहरूले सताउने भएकाले आफैँले उनीहरूको सरसफाइ गरी दिनुपर्छ ।

घरबाहिर निस्कँदा माक्स प्रयोग गर्ने
यस मौसममा बासी तथा काँचो खानेकुरा खानु हुदैन । घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्ने गर्नु पर्छ ।बाढीले विभिन्न जीवजन्तुहरूलाई बगाएर ल्याउने धेरै सम्भावना हुन्छ । जसले गर्दा दुर्गन्ध फैलिने गर्छ । त्यस्तो दुर्गन्धले हाम्रो स्वास्थ्यमा असर गर्ने गर्छ । त्यसैले बाहिर निस्कँदा मास्कको प्रयोग गर्नु राम्रो हुन्छ ।

के छ पूर्वतयारी ?
सरकारले २ वर्षअघि पूर्व तयारीस्वरूपः द्रूत प्रतिकार्य टोली र आपतकालीन चिकित्सकीय समूह निर्देशिका तयार पारेको थियो । सो निर्देशिकामा पालिका स्तरमा पनि द्रूत प्रतिकार्य टोली हुनुपर्ने अवधारणा छ ।

द्रूत प्रतिकार्य टोलीले पूर्वतयारी, रोकथाम र उपचारका कामहरू गर्ने गर्दछन् । यो पटक पनि बर्खा लाग्नुअघि नै टोलीलाई पूर्वतयारी, रोकथाम र उपचारका कामहरू गर्न महाशाखाले निर्देशन दिइसकेको डा।पौडेलले बताए ।

केही ठाउँमा यी टोलीमार्फत चेतनामूलक कार्यक्रमहरू भइरहेका छन् भने नभएका पालिकामा केन्द्र तथा प्रदेशको समन्वयमा पूर्वतयारीबारे जानकारी दिने काम पनि भइरहेको उनले जानकारी दिए ।

त्यस्तैस ग्रामीण भेगहरूमा पानीजन्य सरुवा रोगको प्रकोप अझ बढी हुने भएकाले ती क्षेत्रहरूमा पानीको परीक्षण गर्ने गरिएको छ । यी रोगहरू फैलिन व्यक्ति तथा गाउँ(समाजको पनि त्यत्तिकै जिम्मेवारी हुने भएकाले सरकारले एक्लैले मात्रै गरेर केही हुँदैन । मानिसहरू आफैँ सचेत भएर सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

सम्बन्धित शिर्षक :