डा. सरिता राना
महिलाको पाठेघर भन्नाले एउटा महत्वपूर्ण अङग् सँगसँगै डिम्बासय अर्थात दुईवटा अण्डा कोष हुन्छन् । त्यसमा अण्डा बोक्ने नली जसलाई हामी फूलोप्यन ट्युब भन्छांै । भित्री अङ्ग, हामी यौनाङ्ग भन्छौं त्यसलाई भजाइना भनिन्छ । बाहिरी अङ्ग जसलाई हामी भल्भा भन्छौं ।
यी सबै अङ्गहरुमा फरक–फरक किसिमको क्यान्सर भइरहेको हुन्छ । यसको उपचार विधी, रोकथामहरु र देखिने लक्षणहरु फरक–फरक हुन्छन् । अन्य क्यान्सरहरुभन्दा पाठेघरको मुखको क्यान्सरलाई महिलाहरुमा हुने सबैभन्दा प्रमुख क्यान्सर हो । विकासोन्मुख देशहरुमा महिलामा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर नै प्रमुख रुपमा देखा पर्दछन् ।
धेरैजसो विकसित देशमा पाठेघरको मुखको क्यान्सर अहिले धेरै कम भइसकेको छ तर नेपाल, भारतजस्ता विकासोन्मुख देशहरुमा अहिले पनि पाठेघरको क्यान्सरको जोखिम बढ्दो छ । पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ । सुरुमै हुनै नदिन सक्ने सम्भावना रहेकाले यसका बारेमा सचेतना फैलाउन उत्तिकै आवश्यकता छ ।
पाठेघरको मुखको क्यान्सर के हो र कसरी हुन्छ ?
पाठेघरको मुखमा रहेको कोसिकाहरुमा ह्युमन प्यापिलोमा भाइरसका संक्रमणको कारणले गर्दा पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । धेरै अध्ययनहरुका अनुसार ९० प्रतिशत भन्दा धेरै यो भाइरसको संक्रमणले अनियमित तवरले कोशिकाहरु बढ्दै गएर टयुमर पलाएर क्यान्सर हुने गर्दछ ।
ह्युमन प्यापिलोमा भाइरसलाई ‘लो रिस्क’ र ‘हाइ रिस्क’ भनेर छुट्याएको हुन्छ । लो रिस्क भाइरसका कारणले हात खुट्टा लगायतमा मुसाहरु आउने गर्दछ भने यसकै प्रजातिको ‘हाइ रिस्क’ भाइरसको संक्रमणले पाठेघरको मुखको क्यान्सर गराउँछ भनिन्छ । धेरै जसो हामी महिलाहरु जीवनकालमा कुनै न कुनै बेला यो भाइरसको सम्पर्कमा आउँछौं तर रोग प्रतिरोधात्मक क्षमता बलियो हुँदा शरीरले नै भाइरसलाई मेटाएर पठाउँछ तर जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, उसमा भाइरस शरीरमा रहन्छ र पाठेघरको मुखको क्यान्सर गराउँछ ।
यो भाइरस हाम्रो शरीरमा शारीरिक सम्पर्कबाट सर्ने गर्दछ । त्यसैले यो क्यान्सर हुने कारणमा धेरैजनासँग यौन सम्पर्क राख्नु, सानै उमेरमा शारीरिक सम्पर्क राख्नु, धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु, शारीरिक रुपमा कमजोर हुनु, धेरै बच्चा जन्माउनु, धुम्रपान, मादकपर्दाथ सेवन जस्ता रहेका छन् ।
पाठेघरको क्यान्सरका लक्षण
धेरै जसो महिलाहरुमा फोहोर पानी आउने, गन्हाउने पानी बग्ने, श्रीमानसँग यौन सम्पर्क राखेपछि रगत देखिने, कतिपयलाई रगत आइराख्ने, पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । रोग पुरानो हुँदै गएपछि धेरै नै पेट दुख्ने, पिसाबमा खराबी भएर पोल्ने, पिसाब गर्दा दुख्ने, खुट्टाहरु दुख्ने जस्ता समस्याहरु देखिन्छन् ।
रोकथामको लागि के गर्ने ?
पाठेघरको मुखको क्यान्सरको रोकथामको लागि धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नुहुँदैन । यौनसम्पर्कबाट नै पाठेघरको क्यान्सरको भाइरस सर्ने भएकाले यौनसम्बन्ध राख्दा कण्डमको प्रयोगहरु गर्ने, धेरै यौन पार्टनर नराख्ने, सानै उमेरमा यौनसम्पर्क नराख्ने जस्ता कुराहरुमा सचेत हुनुपर्दछ ।
विकसित देशहरुमा भ्याक्सिनको कारणले गर्दा पाठेघरको मुखको क्यान्सर धेरै कम भइसकेको छ । अहिले नेपालमा पनि भ्याक्सिन ९खोप० आइसकेको छ तर पर्याप्त छैन । भ्याक्सिन ९ देखि ११ वर्ष उमेरसमूहका किशोरीलाई दुई डोजर १५ वर्षसम्मको उमेरसमूहलाई तीन डोज लगाउन सकेमा रोकथाममा महत्वपूर्ण भूमिका खेल्न सक्छ । हालसालै नेपाल सरकारले पनि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत विभिन्न अस्पतालबाट भ्याक्सिन उपलब्ध गराएको थियो तर अझै बृहत् रुपमा भ्याक्सिनको कार्यक्रम आउन जरुरी देखिन्छ ।
पाठेघरको क्यान्सरको लागि पाठेघरको मुखको पानी जाँच गर्न सकिन्छ । तर रोग लागेर मात्र जाँच्नुपर्छ भन्ने मानसिकता धेरै देखिन्छ । पाठेघरको मुखको पानी जाँच अर्थात प्याब टेस्ट क्यान्सर भएर गर्ने होइन यो क्यान्सर हुनु अगावै नै गर्ने कुरा हो । यसलाई हामीले पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ टेस्ट पनि भन्छां ।
यसमा तपाईहरुले २१ वर्षभन्दा मुनिका महिलाहरुलाई खाली पाठेघरको पानी जाँचेर हेर्न सकिन्छ र ३० देखि ६५ वर्षको महिलाहरुलाई ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० टेस्ट गरेर पनि शरीरमा त्यो भाइरस छ कि छैन भनेर हेर्न सकिन्छ । यस्ता परीक्षणले क्यान्सर हुनुभन्दा अगाडि नै आफ्नो अवस्था पत्ता लगाउन सकिन्छ र सुरुमै पत्ता लगाएर उपचारतर्फ लाग्यांै भने क्यान्सरबाट मुक्त हुन सकिन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणको अर्को पनि एउटा विधी हुन्छ जस्लाई भिआईए टेस्ट भनिन्छ ।
सन २०१० देखि नेपाल सरकारले भिआइ टेस्ट, प्याब टेस्ट गरेर पाठेघरको मुखको क्यान्सर रोकथामको लागि अगाडि बढिरहे पनि अझै पनि परीक्षणको दायारा फराकिलो हुन सकेको छैन । सन् २०१० सालमा ५० प्रतिशत महिलाहरुको परीक्षणको लक्ष्य राखिएपनि अहिले जनसंख्याको ८/२ प्रतिशत मात्र महिलाहरुको स्क्रीनिङ भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वमा कम्तीमा ९० प्रतिशत व्यक्तिमा भ्याक्सिन लगाउनुपर्ने बताएपनि नेपालमा एक प्रतिशतभन्दा कम व्यक्ति मात्र भ्याक्सिनको पहुँचमा पुगेका छन् । यसकारण पनि पाठेघरको मुखको क्यान्सर न्यूनीकरण र रोकथाममा हामीहरु धेरै नै पछाडी परिराखेका छौ ।
पाठेघरको मुखको क्यान्सर पहिला पहिला ३० देखि ४० वर्ष, ६० देखि ६५ वर्ष उमेरसमूहमा धेरै देखिन्छ भन्ने अवस्था थियो, तर आजभोली युवा पुस्तामा २४/२५ वर्षकै उमेरमा पनि देखिंदै जाँदा हामी अझ बढी सर्तक हुने समय आएको छ । पहिलाको जमानामा चाँडो विवाह गरिदिने प्रथा थियो भने अहिलेको समयमा चाँडै यौनक्रियाकलापमा सहभागि हुने गरेको देखिन्छ । त्यसैले पाठेघरको क्यान्सर रोकथामका लागि स्कुलतहबाटै नै सुरक्षित यौनसम्पर्क र यौनशिक्षाबारेका कक्षाहरु दिन जरुरी छ ।
हाम्रोमा पर्याप्त मात्रामा भ्याक्सिनको उपलब्धता छैन । अझैपनि किशोरीहरूलाई नै भ्याक्सिन नपुगिरहेको अवस्थामा किशोरहरुलाई भ्याक्सिन दिने कुरै रहेन । केटा मान्छेहरुमा पेनाल्ट क्यान्सरहरु ह्युमन प्यापिलोमा भाइरसकै कारणले गर्दा भ्याक्सिन महिला पुरुष दुवैको लागि उत्तिकै आवश्यक छ । यो भाइरस केटाबाट केटीमा सर्ने र केटीबाट केटामा सर्ने भएकाले भ्याक्सिन दुवैलाई जरुरी छ ।
अन्य मुलुकहरुमा हेर्दा ह्युमन प्यापिलोमा भाइरसको लागि ‘डिएनए टेस्ट’लाई प्रारम्भिक टेस्ट मानिन्छ, जुन परीक्षण नेपाल अझैसम्म सरकारी लेभलमा आएको छैन । निजी अस्पतालमा त आएको छ तर त्यो महङ्गो भएको कारण सबैको पहुँचमा पुग्न सकेको छैन ।
लाज त्यागौं
कतिपय अवस्थामा पाठेघरको क्यान्सरबारे बिरामी नै सचेत छैनन । कुनै ठाउँमा सचेत भएपनी महिलाहरुले लाज मान्ने प्रवृत्ति धेरै मात्रामा पाइन्छ । उहाँहरु लाज र अप्ठ्यारोले परीक्षण नै गर्न मान्नुहुन्न । अस्पतालमा आउने ८०/९० प्रतिशत महिलाहरु डाक्टरलाई आफ्नो यौनाङ्ग देखाउनुपर्छ भनेर परीक्षण गर्नुभन्दा अगाडि आनाकानी धेरै गर्नुहुन्छ ।
सबैभन्दा पहिला महिलाहरुले लाज हटाएर समयसमयमा परीक्षण गराइराख्नुपर्दछ । एउटा ‘प्रि क्यान्सर’ जुन क्यान्सर हुनु भन्दा अगाडि नै देखियो भने त्यहाँबाट क्यान्सरमा परिणत हुनसम्म १० देखि १५ वर्ष लाग्छ भनिन्छ त्यसकारण स्क्रिनिङ एकदमै महत्वपूर्ण छ । त्यसकारण जोखिममा रहेका सबै महिलाले परीक्षण अनिवार्य रुपमा गराउनुपर्दछ ।
यदि सुरुवाती अवस्थामा नै पाठेघरको मुखको क्यान्सर पत्ता लागेमा पूर्ण रुपमा निको हुन्छ । स्टेज १ र २ सम्म पनि यसको निको हुने दर उच्च नै छ तर स्टेज ३ र ४ को निको हुने दर न्युन छ ।अन्तिममा हामीले हाम्रो जीवनमा धेरै कुरामा आर्थिक खर्च गरिरहेका हुन्छौं तर आफ्नो शरीरलाई ध्यान दिदैनौं त्यसकारण सबै महिला दिदीबहिनीलाई आफ्नो स्वास्थ्यको पूर्ण रुपमा जाँच गरौं भन्न चाहान्छु ।
(वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्त्री रोग तथा क्यान्सर विशेषज्ञको रुपमा कार्यरत डा रानासँग गरेको कुराकानीमा आधारित)
प्रतिकया दिनुहोस्