तिलोत्तमाको बजेट २ अब ७६ करोड: वातानुकुलित खोप केन्द्र निमार्ण गरिने

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कुल २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

पालिकाको दोस्रो नगरसभा तथा पाँचौँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि चालु खर्चतर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार (४५.०१) प्रतिशत र पुँजीगततर्फ १ अर्ब ५२ करोड १८ लाख ४८ हजार (५४.९९) प्रतिशत खर्च हुने अनुमान गरिएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट वक्तव्यमार्फत वताउनु भयो।

बजेटमा स्वास्थ्यतर्फ सबै नागरिकको पहुँच सुनिश्चित रहोस् भन्ने उद्देश्यसहित वातानुकुलित खोप केन्द्र निर्माणका लागि ९ करोड ४५ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।बजेटमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अभिवृद्धि , कृषिको व्यवसायीकरण, पूर्वाधार विकासमार्फत नगर रूपान्तरण, पर्यटन पूर्वाधार तथा पुरातात्विक स्थलको संरक्षणलाई प्राथमिकतामा राखिएको चौधरीले वताउनु भयो ।

शिक्षातर्फ सामुदायिक विद्यालयमा बालविकास कक्षा व्यवस्थापन, यातायातका साधनमा अनुदान, नगरको समग्र शिक्षा प्रणाली सुधारका लागि ४५ करोड ६९ लाख ८५ हजार रुपैयाँ बजेट प्रस्ताव भएको उपप्रमुख चौधरीले वताउनु भयो ।नमुना कृषक प्रवर्द्धन, कृषिको आधुनिकीकरण, धान खेतीमा हाँस , किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्थालाई शतप्रतिशत वृद्धि गरि कृषिमा २ करोड ३७ लाख ७९ हजार प्रस्ताव भएको छ ।

नगर प्रमुख नवप्रवर्तन कार्यक्रम तथा नगर उपप्रमुख उद्यमशिलता विकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । पालिकाले सडक सौन्दर्यीकरण तथा उज्यालो तिलोत्तमा बनाउन आवश्यक बजेट छुट्याएको छ ।

आगामी वर्ष पालिकाले ३२ करोड ६६ लाख २५ हजार अन्तरिम राजश्वतर्फ संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तानतरण तथा बजेटबाट २ अर्ब ४३ करोड ९५ लाख ९७ हजार प्राप्त हुने लक्ष्य राखेको छ ।पालिकाले चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजारको बजेट ल्याएको थियो ।

सम्बन्धित शिर्षक :