सेवाको आपसी मूल्यांकनका लागी पूर्व खोलाका स्वास्थ्यकर्मीलाई अवलोकन भ्रमण

स्वास्थ्यसमाचार / स्वास्थ्य चौकीहरू दिने सेवाका बारेमा राज्यले न्युनतम मापदण्ड तोकेको छ । त्यहि मापदण्डको कार्यान्वयन संग जोडिएको हुन्छ त्यहाँको सेवाको गुणस्तर । अनि, गुणस्तरीय स्वास्थ्य सेवाका लागि चाहिन्छ आवश्यक जनशक्ति तथा उपकरणहरु । संगसंगै चाहिन्छ नेतृत्व तहबाट गरिने व्यवस्थापन ।

स्वास्थ्य कार्यालय पाल्पाले पूर्व खोला गाउँपालिकाका स्वास्थ्यकर्मीलाई यहि विषयमा केन्द्रीत रहेर पारस्परिक अवलोकन भ्रमण गरायो ।
गाउँ पालिकाको वडा नं ५ स्थित वीरकोट स्वास्थ्य चौकीमा पालिका भरिका स्वास्थ्य चौकीका प्रतिनिधिहरुलाई बोलाई आफ्नो स्वास्थ्य चौकीबाट उपलव्ध सेवा र त्यहाँको स्वास्थ्य चौकीले दिएको सेवाबारे तुलना गर्न लगायो ।

वडा नं १ को सिलुवा, वडा नं २ को जल्पा, ३ को रिङनेरह, ४ को देवीनगर, र ६ को हेक्लाङ स्वास्थ्य चौकीबाट आएका स्वास्थ्यकर्मीका प्रतिनिधिले वीरकोट स्वास्थ्य चौकीले मापदण्ड अनुसारको सेवा दिएको छ कि छैन भनेर अवलोकन गरे ।
त्यति मात्रै गरेनन्, सो स्वास्थ्य चौकीले गरेको राम्रो अभ्यास आफूकहाँ छ कि छैन्, त्यहाँ भएका कमजोरी आफूले गरेको छ कि छैन भनेर समेत तुलना गरे ।


स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले पालिका भित्रका स्वास्थ्य चौकीले दिएका सेवाको आपसी मूल्यांकन तथा गर्नुपर्ने कार्यको बारेमा सिकाई तथा अनुभव साटासाट गरेको बताए । उनले यसबाट हाम्रा स्वास्थ्य चौकीहरूको आधारभूत स्वास्थ्य सेवाको मापदण्ड पुगेको छ छैन भनेर थाहा हुने, नपुगेको ठाउँमा पुर्‍याउनका लागि मद्धत हुने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन टिकाराम अधिकारीले स्वास्थ्यकर्मीले आफ्ना स्वास्थ्य चौकीबाट दिनुपर्ने गुणस्तरीय सेवा र त्यसका लागि गर्नै पर्ने काम तथा मापदण्डका बारेमा पुनर्जागृत गराएको बताए ।

कार्यक्रममा पूर्व खोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले स्वास्थ्य विषय निकै नै महत्वपूर्ण र सम्वेदनशील रहेको भन्दै स्थानीय तहबाट उपलव्ध हुने सेवाका बारेमा स्वास्थ्यकर्मीहरूलाई थप सजक बनाउन यो खालको कार्यक्रम आयोजना भएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा पूर्व खोला ५ वीरकोटका वडाअध्यक्ष विष्णुकुमार पल्ली, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल लगायतले कार्यक्रम बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित शिर्षक :