लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेसु डा.ढकालद्वारा पदभार ग्रहण

अस्पतालमा परिणाम देखिने गरी सुधार गर्दै लैजान्छु :डा.ईन्द्र ढकाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेसु डा.ईन्द्र ढकालले पदभार ग्रहण गर्नु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालमा उहाले आज पदभार ग्रहण गर्नु भएको हो ।

डा.ईन्द्र ढकाललाई जेठ १८ गते लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको निर्णय अनुसार लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको थियो।

अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौं कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताउनु भयो। शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले वृद्धि गरिने उल्लेख गर्नु भयो। ढकालले सेवालाई सरल र छितो छरितो बनाउन आफूले प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो ।

अस्पतालमा हाल प्रसूति कक्षतर्फ दैनिक १५/२० वटा शल्यक्रिया हुने गर्दछ भने अन्यतर्फ मेजर तथा माइनर अपरेशन (शल्यक्रिया) दैनिक २० वटासम्म हुने गरेको छ ।दोस्रो कार्यकालका लागि मेडिकल सुपरिटेण्डेन्ट बनेका डा. ढकालले आफ्नो नेतृत्वमा परिणाम देखिने गरी सुधार गर्दै लैजाने प्रतिवद्धता गर्नु भयो । अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवाहरूलाई चुस्तदुरुस्त बनाउँदै सकेसम्म सेवाग्राहीलाई अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गर्नु भयोे ।

उपचारका लागि बाहिर जानु पर्ने अवस्थालाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिवद्धता गर्दै उनले अस्पताल परिवार सबैको सहकार्य र प्रतिवद्धताको खाँचो औल्याउनु भयो ।यसैगरी बढ्दो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले गुनासोरहित स्वास्थ्य सेवाका लागि सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको साथा आवश्यक रहेको उहाले बताउनु भयो।

जनताले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार प्रत्याभुति लागि अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमलाई एक महिना भित्र सुधार गरेर लैजाने प्रतिवद्धता जाहेर गर्नु भयोे । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराएर सेवालाई सरल र सबैको पहुँचमा पुर्‍याउनु पर्नेमा उहाले जोड दिनु भयो।

अघिल्लो कार्यकालमा आफूले पूरा गरेका जिम्मेवारीभन्दा यस पटक थप चुनौतीहरु रहेको बताउँदै उहाले सबै योजनाहरुलाई व्यवहारिक कार्यान्वयनका लागि आफ्नो पहल रहने उल्लेख गर्नु भयो । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको अस्पतालको निर्माणाधिन भवनको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पहल रहने बताउनु भयो।

अस्पतालमा निर्माणको काम भइरहँदा सेवाग्राहीलाई उपलब्ध गराइने स्वास्थ्य सेवामा कुनै कमजोरी वा असर नपर्ने गरी काम अघि बढाउन आफ्नो पहल रहने मेसु ढकालले बताउनु भयो।

पदस्थापनको अवसरका शुभकामना व्यक्त गर्दै अस्पताल बिकास समितिका पूर्व अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले सधै सम्झिने गरी जिम्मेवारी पूरा गर्न मेसु ढकाललाई सुझाव दिनु भयो । जसभन्दा बढी अपजस आउन सक्ने सार्वजनिक पदमा बसेर काम गर्नु आफैमा चुनौतिपूर्ण रहेको बताउँदै उनले यसका सामना लागि सहकार्य नै उपयुक्त विकल्प भएको उल्लेख गर्नु भयो ।

यसैगरी अस्पतालका पूर्व मेसु डा. कृष्ण खनालले शुभकामना व्यक्त गर्दै ठूलो जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउने लुम्बिनी प्रादेशिक अस्पतालमा सकेसम्म कमभन्दा कम गुनासो आउने गरी कार्यसम्पादन गर्न सुझाब दिनु भयो।

स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या र चुनौतीहरु रहेको बताउँदै उहाले ती चुनौतिको सामना गर्न सक्षम नेतृत्व र भूमिकाको आवश्यक रहने उल्लेख गर्नु भयो ।अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा आयोजित पदस्थापन तथा शुभकामना कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, अस्पतालका विभाग प्रमुखहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :