लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको काम शुरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य शुरु भएको छ । प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक अस्पताल भवन निर्माणको काम शुरु भएको हो । नयाँ भवन निर्माणका लागि पुराना संरचना हटाउने काम थालिएको छ ।

अस्पतालको पुरानो बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), अन्तरङ्ग (इन्डोर) सेवा रहेको भवनसँगै हाल प्रशासनिक कक्ष रहेको भवन भत्काएर नयाँ संरचनाको काम थालिएको छ ।

दैनिक हजारौंको संख्यामा उपचारका लागि आउने अस्पताल भएकोले संरचना हटाउँदा धुलो तथा वायु प्रदूषण कम गर्न पानी छिटेर सुरक्षितसाथ काम गरिरहेको आयोजनाका साइड इञ्जिनियर रमेश शर्माले जानकारी दिनुभयो । ‘दुई हप्ताभित्रै पुरानो संरचना हटाएर नयाँ संरचनाको जग खन्न तयार पार्दैछौं’– उहाँले भन्नुभयो– ‘अस्पतालका अन्य संरचनाको सुरक्षा तथा जग खन्ने काम भइरहेको छ ।’

अस्पतालको नयाँ बन्ने भवन डिजाइनअनुसार दुई तला अण्डरग्राउण्ड (जमिनमुनी) हुनेछ । कम्तीमा साढे सात मिटर गहिरो जग खन्नुपर्नेछ । एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधीकरणले छ अर्ब १८ करोड ७५ लाख लागतमा ठेक्का सम्झौता गरेको छ ।

भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेञ्चरले नेपाली कम्पनीसँग संयुक्तरूपमा काम गर्नेगरी गत पुस २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार वि.सं. २०८५ पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ । अस्पताल भवन बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको छ बिगाह १२ कठ्ठा जग्गामा निर्माण हुँदैछ ।

अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपत्कालीन सेवा (इमर्जेन्सी), इण्डोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् भने भवनको छतमा हेलिप्याड रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आवतजावत गर्न मिल्ने व्यवस्थित लिफ्ट बन्नेछ । क्यान्सर उपचारका लागि अण्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ ।

अस्पतालका लागि पछिल्लो पाँच वर्षयता संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन् । अस्पताल विकास समितिले इमर्जेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माणलगायतमा ३५ करोडबढी लगानी गरेको छ ।

अस्पतालमा हाल पाँच सय २० शøया रहेका छन् । यहाँ दैनिक दुई हजारभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गर्छन् । सामान्य अवस्थामा पनि ७० प्रतिशतबढी शøया बिरामीले भरिने गर्छन् । सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत एक सय गरी चार सय शयाको स्वीकृति पाएको अस्पतालले बिरामीको चापका कारण एक सय २४ शया थप गरी पाँच सय २४ शयाको सेवा प्रदान गर्दै आएको छ।

अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले अस्पतालले वार्षिक ४० लाखलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । डा. रानाका अनुसार अस्पतालमा दैनिक ओपिडीतर्फ एक हजार पाँच सयदेखि दुई हजार र इमर्जेन्सीमा दुई सयदेखि दुई सय ५० जनासम्म बिरामी आउने गर्छन् ।

सम्बन्धित शिर्षक :