धुर्कोटको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६सय ६०जनाले लिए सेवा

बुटबलबाट लिने सेवा गाउँमै लिन पाउँदा खुसी लागेको स्थानीयको भनाई

स्वास्थ्यसमाचार/गुल्मीको धुर्कोट गाउँपालिकाले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थल स्थित धुर्कोट आधारभुत अस्पतालमा सम्पन्न शिविरमा ६६० जनाले सेवा लिएका छन् । जसमा महिला ४५८ र पुरुष २०२ जनाले सेवा लिएका छन् ।

शिविरमा १८९ जनाले जनरल मेडिसिन, १८० जनाले हाडजोर्नी तथा नशा रोग, ९२ जनाले स्त्री रोग, ७३ जनाले बालरोगको सेवा लिएका छन् । त्यसैगरी ४७ जनाले दाँत र ७९ जनाले मनोरोगको सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले जानकारी दिए ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटबलका कन्सल्टेन्ट फिजिसियन डाक्टर शम्भु खनाल, बरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर बिपिन खनाल, टाउको, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रमेश अर्यालले निःशुल्क रुपमा सेवा प्रदान गरेका थिए ।

त्यसैगरी भीम अस्पताल, भैरहवामा कार्यरत डाक्टर सुदिप भण्डारी, डेन्टल सर्जन डाक्टर सुशिल पोखरेल, मेडिकल अफिसर डाक्टर श्रीराम पन्थीले निःशुल्क रुपमा विशेषज्ञ सेवा प्रदान गरेको कार्यक्रमको संयोजक गरेका लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत भरत जंग क्षेत्रीले जानकारी दिए ।

शिविरमा धुर्कोट गाउँपालिकाका विभिन्न वडाका साथसाथै इस्मा र मदाने गाउँपालिकाका नागरिकले समेत सेवा लिएका छन् । पाल्पा र बुटबलबाट लिने सेवा गाउँमै लिन पाउँदा नागरिक पनि खुसी छन् । ‘उपचार गर्न बुटबल जाने सोच बनाएकी थिए, आज गाउँमै डाक्टर भेट्न पाउँदा खुसी लागेको छ ।’

शिविरमा आएकी स्थानीय मीना बस्नेतले भनिन्, ‘गाउँपालिकाले शिविरको आयोजना गरेर हामीलाई फाइदा पुगेको छ ।’ शिविरबाट बुटबलसम्म आवत–जावत गर्ने रकम र पैसाको बचत भएको बस्नेतको भनाई छ ।

वडा नम्बर ४ जैसिथोकका ७९ बर्षिय छविलाल नेपालीले घर नजिकै आयोजना गरेको शिविरबाट आफुलाई निकै राहत मिलेको प्रतिक्रिया दिए । ‘उपचारको लागि घर बाहिर जान सकेको थिइन, यहाँ (शिविरमा) अटो खोजेर आएको हुँ ।’ नेपालीले भने, ‘शिविरमा औषधीको पनि शुल्क लागेन ।

अधिकाशं धुर्कोट स्थायी ठेगाना भएका डाक्टरहरुले विशेषज्ञ सेवा प्रदान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासन प्रमुख राजन केसीले जानकारी दिए । केसी धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थल निवासी हुन् । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाले नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै शिविरको आयोजना गरेको बताए ।

सम्बन्धित शिर्षक :