बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’६ र ८ को घरदैलोमा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बा आमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम अन्तरगत शुक्रबार वडा नं ६ र ८ मा स्वास्थ्य परीक्षण गरिएको छ।

बुटवल ६ को जेष्ठ नागरिक मिलन केन्द्रमा कार्यक्रमको शुरुवात गर्दै नगरप्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सबै वडाहरुमा सञ्चालन हुने बताए।

उनले जेष्ठ नागरिकको स्वास्थ्य उपचार गर्नका लागि बुटवलले आगामी वर्ष थप कार्यक्रम सञ्चालन गर्ने बताए। कार्यक्रममा स्वास्थ्य परीक्षण मात्रै नभई बा आमालाई परेका समस्याका बारेमा समेत जानकारी लिइने र त्यसको समाधानको प्रयास गरिने बताए।

नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए।चालु आर्थिक वर्षको बजेटमा बा आमासँग नगरप्रमुखको साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्य वर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए।

उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्‍याउन थालेको बताए।

उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. पाठक, स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी लगायत विशेषज्ञ चिकित्सक, निजी अस्पतालहरूका चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए।

अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिसमेत निःशुल्क दिइने उनले बताए। वडाहरुमा सञ्चालन भएका यस्ता अभियानले नागरिकको घरदैलोमै सेवा पुग्ने भएकाले लाभ लिन वडाध्यक्षहरु लोकनाथ न्यौपाने र यज्ञप्रसाद पंगेनीले बताए।

यो अभियानअन्तर्गत यसअघि बुटवलका वडा नं २, ३, ११, १२ र १३ मा सञ्चालन भइसकेको छ भने बाँकीमा नियमित रुपमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए।

सम्बन्धित शिर्षक :