पश्चिम नवलपरासीमा पहिलो चरणको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासी जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आज बाट सुरु भएको छ । पश्चिम नवलपरासीमा आज पाल्हीनन्दन गाँउपालिकाको वडा नम्बर ५ मा रहेको राजनारायण माविमा एक कार्यक्रमका बिच खोप कार्यक्रमको औपचारिक सुरुवात भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख भौतिक यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता दिपक, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायतले खोप कार्यक्रम प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नवलपरासीमा पहिलो चरणमा सुनवल र रामग्राम नगरपालिका सहित पाल्हीनन्दन गाँउपालिकामा आज देखि फागुन १९ गते सम्म खोप लगाईदै छ भने बाँकि स्थानिय तहमा फागुन २१ देखि २७ गते सम्म खोप लगाइने छ । पहिलो चरणमा तिन ओटा पालिकाका ५१ हजार बालबालिकालाई खोप लगाईदै छ । विभिन्न विद्यालयमा खोप अभियान सञ्चालन गरिएको र विद्यालय नआउने बालबालिकालाई समेत खोपको दायरामा ल्याउने गरि कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पन्थीले बताउनुभयो ।

दुई चरणको खोप कार्यक्रमका लागी जिल्लाका ३ सय ७३ स्थानमा खोप केन्द्र मा ७ सय ७७ जना स्वास्थ्यकर्मी र १ हजार ८८ स्वयंसेवक गरी कुल १ हजार ८ सय ६५ जना जनशक्ति परिचालन गरिएको छ । नवलपरासीमा दुई चरणमा गरि ९ महिना देखि १५ वर्ष मुनिका १ लाख ५ हजार ४ सय ५९ जना बालबालिकालाई खोप लगाईदै छ ।

देशभर खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ जनालाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ । तराईका २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई र बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षक :