६२औँ नेपाल नर्सिङ दिवस : नेपालमा नर्सिङको छैन उचित सम्मान

स्वास्थ्य संगठनले एक नर्सले ८ जना बिरामी हेर्नुपर्ने भनेपनि नेपालमा २० जना बिरामी हेर्नुपर्ने वाध्यता

स्वास्थ्यसमाचार/आज ६२औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित संघ संगठनले मनाउँदै छन्।नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना भएको थियो।

सोही संस्था खुलेको दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो।नर्सिङ पेसालाई स्वास्थ्य सेवाको उत्कृष्ट र परोपकारी पेसाको रुपमा लिने गरिन्छ। जो कोही सामान्य देखि जटिल प्रकारका स्वास्थ्य सेवा लिएर अस्पताल पुग्ने वा भर्ना हुने बिरामीको लागि सबैभन्दा पहिला २४ सै घन्टा स्वास्थ्य सुरक्षा दिने नर्सहरु हुन्।

नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल नेपालमा ७८ हजार ९सय ४८ नर्स दर्ता छन्। यस्तै १ हजार ५०७ जना स्पेशल नर्सहरु रहेका छन भने ८ सय ४९ जना विदेशी नर्सहरु नेपालमा कार्यरत रहेका छन। यस्तै ६६ जना मिडवाइ, ३७ हजार ३८३ जना अनमी रहेका छन्।

एकजना नर्सले धेरैमा ६ देखि ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था विश्व स्वास्थ्य संगठनले गरेको छ। तर नेपालमा एक नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ।उचित पारिश्रमिक अभाव, कामको ग्यारेन्टी नहुने आर्थिक सामाजिक सुरक्षा नहुँदा नर्सहरुको विदेश पलायन बढ्दो छ ।

नेपालकै ठूलो शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले राजिनामा दिएर बर्षेनी ३ सय नर्सहरु विदेश पलायन हुने गरेका छन्।नर्सिङ दिवसको दिन हाम्रो देशमा नर्सिङ पेसामा लागेका नर्सहरूको हकहितका विषयमा निकै ठूला बहस र चर्चा हुने गर्छन् । यो दिन नर्सिङ पेसाको महिमा गाइन्छ, नर्सहरूको सुरक्षित भविष्यका लागि सेवा सुविधा बढाउनेदेखि अन्य विभिन्न प्रतिबद्धताहरू गरिन्छन् ।

तर, ती प्रतिबद्धताहरू कुनै पनि कार्यान्वयन हुँदैनन् । दोस्रो दिनदेखि नर्सको अवस्था उही पुरानै । यो शृङ्खला हरेक वर्ष दोहोरिइहन्छ, हाम्रो मुलुकमा । नर्सिङ बिना अस्पतालको कल्पनासमेत गर्न सकिँदैन । यो ध्रुवसत्य हो । तर, यहाँ त नर्सहरूले राज्यले तोकेको न्यूनतम तलब र अन्य सेवा सुविधाबाट पनि वञ्चित हुनुपर्ने विडम्बना छ ।

नर्सिङ पेसाको हकहितका लागि सङ्गठित अभियान सुरु भएको झण्डै छ दशक पुगिसक्दा पनि यो पेसा अझै व्यवस्थित बन्न सकेको छैन । राज्यले तोकेको न्यूनतम पारिश्रमिक पाउन पनि बेला–बेलामा नर्सहरूले आन्दोलनममै होमिनुपर्ने बाध्यता छ । बिरामीको सेवामा दिनरात खट्नुपर्ने नर्सले आफ्नो योग्यताअनुसारको सेवा नपाउँदा कि त विदेशिनुपर्ने बाध्यता छ, कि त पेसाबाटै पलायन हुनुपर्ने अवस्था छ ।

नर्सहरू दिनरात, भोकप्यास केही नभनी साना–साना बालबच्चा, परिवार, चाडपर्वलाई छोडेर बिरामीको सेवामा खटिन्छन् । यो उनीहरूको पेसागत धर्म पनि हो । एउटा नर्स आफ्नो पेसाप्रति पूर्ण रूपमा प्रतिबद्ध र जवाफदेही भएर काम गरिरहँदा उसले पाइरहेको सेवासुविधा पर्याप्त छैन।

आजको अहम् प्रश्न नै यो हो । किन नर्सलाई उनीहरूको श्रमअनुसारको मूल्य दिइँदैन । यसको अर्थ हो, यहाँ नर्सको श्रमको उचित सम्मान छैन ।

सम्बन्धित शिर्षक :