घोराही उपमहानगरमा औषधी खरिदमा ढिलाइ हुँदा बिरामीलाई समस्या

स्वास्थ्यसमाचार/दाङको घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुर सहरी प्रवर्धन केन्द्रमा सिटामोल, एन्टासिट, जीवनजल, एस्पिरिनलगायतका अत्यावश्यक औषधी पाइँदैन ।

सरकारले निःशुल्क घोषणा गरेका यी औषधी बिरामीले सहजै पाउनुपर्ने भए पनि घोराही उपमहानगरपालिकाले औषधी खरिदमा ढिलाइ गर्दा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या हुने गरेको छ । निःशुल्क घोषणा गरेका औषधी नागरिकले बाहिर किन्नुपर्ने बाध्यता छ ।

मङ्सिरसम्म औषधी भए पनि पछिल्लो समय औषधी सकिँदा बिरामीलाई बाहिर खरिद गर्न सुझाव दिने गरेको नारायणपुर सहरी प्रवर्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्य बताउनुहुन्छ । प्रवर्धन केन्द्रका प्रमुख आचार्यले भन्नुभयो, “गत मङ्सिरसम्म निःशुल्क रूपमा पाइने औषधी थिए तर अहिले सकिएका छन् ।

औषधी नहुँदा सेवाग्राहीलाई बाहिर बजारमा रहेका औषधी पसलमा किन्न भन्ने गरेका छौँ ।” निःशुल्क भनेको औषधी नपाउँदा बिरामीले गुनासो गर्ने गरेको बताउनुभयो ।

घोराही उपमहानगरापलिका–१९, सैघामा रहेको स्वास्थ्य चौकीमा पनि औषधी अभाव भएको स्वास्थ्य चौकी प्रमुख ज्वलन्त खड्का बताउनुहुन्छ । भूगोलका रूपमा विकट वडावासीका लागि स्वास्थ्य चौकी प्रमुख आधार भए पनि औषधी अभावका कारण बिरामीलाई घोराहीसम्म जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपमहानगरपालिकाले औषधी किनेर पठाउनुपर्ने हो तर पठाउन सकेको छैन । जसले गर्दा स्वास्थ्य चौकीमा आधारभूत रूपमा पाइनुपर्ने औषधी पाउन बिरामीलाई समस्या छ ।”

वडा कार्यालयले छुट्याएको बजेटबाट खरिद गरेर बिरामीलाई समस्या पर्न नदिने प्रयास गरे पनि त्यो पर्याप्त नभएको उहाँ बताउनुहुन्छ । औषधी अभावको समस्या हटाउनका लागि वडाको बजेटबाट खरिद गरे पनि त्यो पर्याप्त नरहेको खड्काले बताउनुभयो ।

त्यसै गरी घोराही उपमहानगरपालिका–१३ मा रहेको स्वास्थ्य चौकीमा पनि औषधी अभाव छ । उपमहानगरपालिकाबाट औषधी नपाउँदा वडा कार्यालयले नै आन्तरिक स्रोतबाटै औषधी खरिद गरेर बिरामीका लागि व्यवस्थापन गर्ने कार्य भइरहेको स्वास्थ्य चौकी भ्युडरका प्रमुख माधव गौतम बताउनुहुन्छ ।

प्रमुख गौतमले भन्नुभयो, “उपमहानगरबाट अहिलेसम्म औषधी आएको छैन, वडाको बजेटबाट औषधी खरिद गरेर बिरामीलाई दिने गरेका छौँ  ।” औषधी नहुँदा ज्वरो आएका, टाउको दुख्ने, चोटपटक लागेका बिरामीले निःशुल्क पाइने औषधी किन्नुपर्ने बाध्यता छ ।

उपमहानगरले समयमै औषधी व्यवस्थापन गर्न नसक्दा नगर अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूमा औषधी अभाव भएको छ तर उपमहानगर पालिकाले टेन्डर आह्वान गरे पनि कसैले ठेक्का नलिँदा औषधी खरिद गर्न नसकेको जनाएको छ ।

नागरिकलाई निःशुल्क उपलब्ध गराउनुपर्ने औषधी टेन्डरमार्फत ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती बताउनुहुन्छ ।

दुई पटक टेन्डर आह्वान गरे पनि ठेक्का नलाग्दा औषधी खरिद गर्न नसकेको उहाँको भनाइ छ । घर्तीका अनुसार १८ प्रकारका औषधी मगाए पनि १७ प्रकारका औषधी मात्रै आएको छ । उहाँका अनुसार उपमहानगरले अहिले चार लाख बजेटमा औषधी खरिद गरेको छ । बाँकी औषधी खरिद गर्ने प्रक्रियामै छ ।

औषधी खरिदकै लागि भनेर सङ्घीय सरकारबाट ३५ लाख रुपियाँ बजेट आएको र घोराही उपमहानगरले २५ लाख रुपियाँ औषधी खरिदका लागि छुट्याए पनि औषधी खरिदमा ढिलाइ भएको स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनुभयो ।

सम्बन्धित शिर्षक :