प्रदेश पाँच सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा नेपालकै अग्रस्थान

स्वास्थ्यसमाचार/सुर्तिजन्य पदार्थ र पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश नम्बर पाँच नेपालकै अग्रस्थानमा रहेको एक अध्ययनले देखाएको छ । सुर्तिजन्य पदार्थमा चुरोट ,विडी, तमाखु,सुर्तिजन्य गुडखा,पानपराग, पान ,सुर्ति पर्ने गर्दछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाण्डौले गत फेबु्रअरी देखि मे २०१९ सम्ममा गरेको सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको २८ दशमलव ९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको राष्ट्रिय तथ्याङक रहेकोमा प्रदेश पाँचमा भने ३६ दशमलव ६ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको प्रतिवेदन मा उल्लेख गरिएको छ ।

राष्ट्रिय तथ्याङक भन्दा प्रदेश पाँचमा ७ दशमलव ७ प्रतिशत जनताले बढी सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेकोे पाईएको प्रतिवेदन सार्वजनिक गरिएको छ । १५ वर्षदेखि ६९ वर्ष उम्मेर समुहका वयस्कहरुको जनसंख्यामा आधारित भएर सर्वेक्षण गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वरिष्ठ अनुसन्धान अधिकृत बिहंगम विष्टले वताए ।

नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको अवस्था पत्तालगाउनका लागि परिषदले सर्वेक्षण गर्ने गरेको उनले आज बुटवलमा आयोजित प्रतिवेदन सार्वजनिक समारोहमा जानकारी गराए ।

प्रदेश पाँचमा मद्यपानमा पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्ने ७० दशमलव ८ प्रतिशत रहेका छन भने राष्ट्रिय तथ्याङकमा ६८ दशमलव ५ प्रतिशत रहेको छ । यो तथ्याङक मद्यपान गर्नेहरुमध्येकोवाट गरिएको सर्वेक्षण हो ।

विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार हरेक नेपाली जनताले हरेक दिन ४ सय ग्राम फलफुल र तरकारी खानु पर्नेमा केवल १ सय ६० ग्राम मात्र खाने गरेको सर्वेक्षणले देखाएको पनि सोअवसरमा जानकारी गराईएको थियो ।

सन्तुलित भोजनको अभावका कारण नेपालमा हरेक दिन विरामीको संख्या बढने गरेको हो । राष्ट्रिय तथ्याङक अनुसार नेपालमा दुर्घटना, हिंसा तथा चोटपटकलाई हेर्दा ३ दशमलव ८ प्रतिशत रहेकोमा प्रदेश पाँचमा ५ दशमलव ९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जोनी तथा ढाडको दुखाई सम्बन्धी स्वास्थ्य समस्यामा पनि प्रदेश पाँच अग्रपक्तिमा देखिएको छ । प्रदेश पाँचमा १८ दशमलव ९ प्रतिशतमा यो समस्या देखिएको छ । त्यस्तै उच्चरक्तचाप, रगतमा चिनीको मात्रा र कोलेस्टेरोलका समस्यामा पनि प्रदेश पाँच राष्ट्रिय तथ्याङकमा भन्दा अगाडी देखिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान अधिकृत सरोज भट्रराईका अनुसार प्रदेश पाँचका २८ दशमलव २ प्रतिशत जनतामा यो रोगको समस्या रहेको छ भने राष्ट्रिय तथ्याङकमा २४ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा देखाईएको छ । सर्वेक्षणमा प्रदेश पाँचका ५ हजार ५ सय ९३ जना वयस्कहरु माझ गरिएको बताईएको छ । समग्रतामा ८६ दशमलव ४ प्रतिशत रहेको पनि परिषदले जनाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सार्वजनिक गरेको प्रतिवेदनलाई मध्य नजर गरि प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले आगामी दिनको रणनीति तयार गर्ने महाशाखा प्रमुख उमाशंकर चौधरीले वताए ।

सम्बन्धित शिर्षक :