लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका(पार्क)को शिलान्यास

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागेको फार्मेसी बाटेकाको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

अस्पतालको प्रस्तावमा संघले ओपिडी भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्क निर्माणको लागि १० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पार्क निर्माण गर्दा अस्पतालको सौन्दर्य, पार्कको दिगोपना र आकर्षक बनाउन सुझाव दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताउँदै नगरप्रमुख पाण्डेयले त्यसको लागि पहिले सबै विषयमा प्यारामेडिक्स अध्ययन गर्ने अस्पताल बनाउन प्रस्ताव ल्याउन आग्रह अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । सबै विषयमा प्यारामेडिक्स अध्ययन गर्ने अस्पताल बनाउन सकियो भने न्यून आय भएका नागरिकका छोराछोरीले पढ्न सक्ने र त्यसपछि मेडिकल कलेज बनाउनको लागि कसैले पनि रोक्न नसक्ने भनाई राख्नुभयो ।

उहाँले अस्पतालमा विरामीलाई गर्ने व्यवहार तथा बोलीवचनले बिरामीको आधार रोग निको बनाउन सकिने बताउँदै अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई देख्दा विरामीले विश्वास गर्ने वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो । स्वास्थ्यको क्षेत्रमा नगरपालिका संवेदनशिल रहेको बताउँदै अस्पताल सुदृढ बनाउन सबैको साथ चाहिने भएकाले सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष तथा फार्मेसी बाटिका निर्माण समितिका संयोजक जिल्ला अध्यक्ष गणेश सेढाईले अस्पताल सुधारको अभियानमा एउटा इटा भएपनि थप्न सकियो भनेर अस्पतालको प्रस्तावमा पार्क (बाटिका) निर्माण गर्न लागिएको बताउँदै बाटिका निर्माण अभियानमा सहयोग गर्न फर्मासिष्टहरुलाई आग्रह गर्नुभयो । उहाँका अनुसार यो अभियानमा अहिलेसम्म फर्मासिष्टबाट करिव ७ लाख रुपैंयाको प्रतिवद्धता आईसकेको जानकारी गराउनु भयो ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन सुदर्शन थापाले अस्पतालमा बिरामीको स्वास्थ्योपचारलाई सहज बनाउन मुख्यतया सेवा सुविधा, कर्मचारीको बोली व्यवहार र त्यहाँको वातावरणले प्रभाव पार्ने बताउँदै तीनवटै कुराको सुधारमा अस्पताल प्रशासनले काम गरिरहेको जानकारी गराउनु भयो । उहाँले अस्पतालमा विभिन्न स्थानमा विभन्न प्रकाशका पार्कहरु निर्माण गर्न लागिएको बताउँदै निर्माण सम्पन्न भएपछि त्यसले बिरामीलाई एकप्रकारको सकारात्मक उर्जा प्रवाह गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले जहाँ औषधि त्यहा फासिष्ट भन्ने नारा अगाडि सारेको बताउँदै तीनै तहका सरकारलाई सोही अनुसार नीति लिन पनि आग्रह गर्नुभयो । उहाँले नेपालमा कानुनी रुपमा पनि फार्मेसी बाहेक ले औषधि वितरण लगायतका गतिविधी गर्न नपाउने बताउँदै कानुनको कार्यान्वयनलाई जोड दिनुभयो ।

करिव १० लाख रुपैंया लागत अनुमान गरिएको उक्त बाटिका (पार्क) करिव तीन महिनामा निर्माण सम्पन्न हुने नेपाल फार्मेसी संघ रुपन्देहीका सचिव उदय खत्रीले जानकारी गराउनु भयो ।

 

सम्बन्धित शिर्षक :