मातृशिशु मृत्युदर घटाउने प्रमुख प्राथमिकता : स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृशिशु मृत्युदर घटाउने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बाँकेको नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गर्नुहुँदै मन्त्री खनालले भन्नुभयो, ‘‘स्वास्थ्यका सबै संयन्त्रको पहिलो प्राथमिकता मातृशिशु मृत्युदरमा कमी ल्याउन भन्ने छ, आमा सुरक्षा कार्यक्रममा सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ ।’’

मन्त्री खनालले लुम्बिनी प्रदेशले बाँकेको दुर्गम र पिछडिएको नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुहुँदै निर्माणाधीन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताउनुभयो ।उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भएको जानकारी दिनुहुँदै मन्त्री खनालले नरैनापुरका निर्माणाधीन अस्पताललाई प्रसूति तथा स्त्रीरोग अस्पतालका रूपमा विकास गर्नका लागि प्रदेशबाट थप बजेटको व्यवस्था मिलाउने आश्वासन दिनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसीले प्रदेश सरकार र नरैनापुरको अस्पतालबिचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेको बताउनुहुँदै सहरी विकास मन्त्रालयबाट गर्न सक्ने सहयोग गर्ने बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरू लागि परेको बताउनुहुँदै आर्थिक अभाव र आवश्यक उपकरण खरिद गर्न नसकेकोले चाहे जति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको गुनासो गर्नुभयो ।उहाँले नरैनापुरमा कुनै प्रकारको स्रोत नरहेकोले प्रदेश र सङ्घीय सरकारबाट बजेटको व्यवस्था मिलाई दिन मन्त्रीद्वयसँग आग्रह गर्नु भएको थियो ।

नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले नरैनापुरमा ४६ हजार दुई सय जनसङ्ख्या रहेको बताउनुहुँदै यो आर्थिक वर्षमा ६६६ जना सुत्केरी र एक हजार २१५ जना गर्भवती रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, निर्देशक, प्रदेश सभा सदस्यहरू, वडा अध्यक्षहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :